सिलगढी (निसं) प्रत्येक वर्ष झै यस वर्ष पनि सिलगढीको सालुगढास्थित उत्तर पलासको मझुवा गाँउस्थित मानव धर्म आश्रम परिसरमा आगामी 31 दिसम्बर र 1 जनवरीको दिन मानव धर्म सदभावना सम्मेलनको आयोजना गरिने भएको छ। उक्त सदभावना सम्मेलनमा सम्मिलित हुन आफ्नो सपरिवार सहित मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराज सिलगढीस्थित आश्रममा शुक्रबार नै आइपुगेका छन्। यस अवसरमा तिनलाई मानव धर्मका भक्तहरूले सालुगढाको मानव धर्म आश्रम परिसरमा भव्य स्वागत जनाए। आयोजक समितिले दिएको जानकारी अनुसार आगामी 31 दिसम्बर बिहान सतपाल महाराजले मानव धर्मको झण्डोत्तलन गरेर सदभावना सम्मेलनको विधिवत रूपमा उद्घाटन गर्नेछन्। सम्मेलनको पहिलो दिन 31 दिसम्बरको साँझ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्।
यसरी नै सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती पनि विशिष्ट अतिथिका रूपमा उपस्थित रहने बताइएको छ। सालुगढा नजिक उत्तर पलास महानन्द नदीको तीरमा रहेको मानव धर्म आश्रमको विशाल परिसरमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अदिना बाईजीको कुशल देखरेखमा उक्त दुई दिवसीय सदभावना सम्मेलनको लागि सबै प्रकारका आवश्यक तयारी पूर्ण भइसकेको छ। हाल नेपाल, भोटाङ लगायत असम, सिक्किम तथा डुवर्स, दार्जिलिङ, कालेबुङ, मिरिक आदि इलाकाका मानव धर्मका धर्मावलम्बीहरू दिनहुँ हजारौंको संख्यामा आश्रममा आउने क्रम जारी रहेको छ। आगामी 31 दिसम्बर र 1 जनवरीको साँझमा मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजले अध्यात्मिक प्रवचन दिने छन् भने अन्य विविध धार्मिक कार्यक्रम तथा भजन-कीर्तनको पनि आयोजना गरिने छ।