गान्तोक (निसं): सिक्किम गान्तोकको स्यारी समष्टि अन्तर्गत ताथाङ्चेन निवासी सिक्किम डेमोक्रेटिक पार्टी (एसडीएफ)-का उपाध्यक्ष एवं 2019-को विधानसभा चुनाउमा स्यारी समष्टिबाट एसडीएफ पार्टीको उम्मेदवार रहिसकेका कर्मा वाङ्दी भोटियाले आज बिहान राज्यका मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) अध्यक्ष पीएस तामाङलाई तिनकै सरकारी आवास मिन्तोकगाङमा भेट गरेर आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएका छन्। यस भेट अवधि भोटियासँग तिनकी श्रीमती पनि साथमा थिइन् भने स्यारी समष्टिका विधायक एवं मन्त्री कुङ्गा निमा लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ पनि उपस्थित थिए।\
एसडीएफ पार्टी त्यागेर आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएपछि कर्मा वाङ्दी भोटियालाई एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले हार्दिक स्वागत जनाउँदै राज्यवासीको हितमा सामूहिक रूपमा कार्य गर्ने आह्वान गरे। पार्टी अध्यक्षको आह्वानलाई हृदयबाटै स्वागत जनाउँदै भोटियाले समर्पित भएर एसकेएम पार्टीमा कार्य गर्ने कटिबद्धता व्यक्त गरेको बताइएको छ। पार्टीमा कर्मा वाङ्दी भोटियाको आगमनले एसकेएम पार्टीको धरातल अझ दह्रिलो बन्दै गइरहेको सिक्किम क्रान्तिकारी मोर्चाका प्रचार-प्रसार शाखा सचिव रञ्जना प्रधानले जारी विज्ञप्तिमा जनाएकी छन्।