गान्तोक (निसं): खराब मौसमको कारण अत्याधिक मात्रामा भइरहेको हिमपात अवधि सिक्किम घुम्न आएका पर्यटकहरूको वाहन दुर्घटनामा परेपछि तिनीहरूलाई एसएसबी-का जवानहरूले उद्धार गरे। प्राप्त जानकारी अनुसार, पश्चिम बंगाल लगायत देशका अन्य स्थानबाट आएका 16 जना पर्यटकहरू रहेको एक वाहन हिउँमा चिप्लिएर ढुंगामा ठोक्किएको थियो। यसको कारण केही पर्यटकहरूलाई चोट लागेको थियो भने सबै पर्यटकहरू यस दुर्घटनाको कारण धेरै भयभीत बनेका थिए।
घटनालाई ध्यानमा राख्दै त्यहाँको एसएसबी-का कमाण्डेण्ट अमित सिंहको निर्देशअनुसार सबै पर्यटकहरूलाई जवानहरूको सहयोगमा सीमा चौकी धुपीधारामा ल्याइयो अनि उनीहरूलाई चिकित्सा अधिकारी श्रीमती डोना लाचेनपा, द्वितीय कमान अधिकारीद्वारा उपचार गरियो। तिनीहरूलाई त्यहाँ अक्सिजन पनि उपलब्ध गराइयो भने सबै पर्यटकहरूलाई चियासँगै हिम्मत दिने कार्य गरिएको थियो। पर्यटकहरूलाई सीमा चौकीद्वारा एसएसबीकै वाहनमा सुरक्षित स्थानहरूसम्म पुऱ्याइएको बताइएको छ। यसरी आपदको समयमा सीमा सुरक्षा बलद्वारा गरिएको सहयोगी कार्यको निम्ति पर्यटकहरूले एसएसबी-का जवानहरूको खुलेर प्रशंसा गर्दै कृतज्ञता प्रकट गरेका छन्।