सिलगढी : सिलगढीस्थित दार्जिलिङ मोडमा अवस्थित ट्रक स्ट्याण्ड परिसरमा चालकहरूको लागि विश्राम गृह निर्माण गरिने भएको छ। उक्त विश्राम गृहको आज जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट शिलान्यास गरियो। यस अवसरमा अनित थापाले भने, चुनाउको समयमा चालक संघले विश्राम गृहको माग राखेको थियो। चालकहरूको निम्ति विश्राम गृह आवश्यक पनि रहेको छ। चालकहरू पहाडदेखि सिलगढी आउँछन्। तिनीहरूको लागि दिउँसो विश्राम गर्ने कुनै ठाउँ छैन। कहिले काहीँ तिनीहरूलाई सिलगढीमा रात काट्नु पर्ने स्थिति हुँदछ। बिहान आएर बेलुकीसम्म फर्किनु पर्दा केही समय विश्राम गर्ने, नुहाउने आदि सुविधा पनि नरहेको स्थिति पाए। हामीले तपाईँहरूलाई वचन दिएका थियौं आज त्यही वचन अनुसार विश्राम गृह निर्माणको शिलान्यास गरिएको तिनले बताए। भोलिदेखि यहाँ निर्माण कार्य सुरु गरिनेछ।
यसको निर्माण भएपछि उक्त विश्राम गृहलाई चालक संघलाई हस्तान्तरण गर्नेछौँ। यसलाई चालकहरू स्वयंले सञ्चालन गर्नु पर्नेछ। बीजीपीएले 2021 -को जीटीए चुनाउको समयमा सत्तामा आएपछि चालकहरूको निम्ति सिलगढीमा विश्राम गृह निर्माण गर्ने चालक संघलाई वचन दिएको थियो। यहीँ वचनलाई पालन गर्दै आज दार्जिलिङ मोडस्थित ट्रक स्ट्याण्ड परिसरमा चालकहरूको निम्ति विश्राम गृहको शिलान्यास गरियो। उक्त विश्राम गृह 60.40 लाख रुपियाँको लागतमा निर्माण गरिनेछ। आगामी 5 महिनाको अवधि यसको निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको छ। आगामी दिनमा पहाडको विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिदिने तिनले बताए। चालक संघका महासचिव मन्ना टी खत्रीले अनित थापाप्रति कृतज्ञता प्रकट गर्दै भने, पहाडको इतिहासमा पहिलोपल्ट चालकहरूको हितलाई सोचेर विश्राम गृह निर्माण हुन गइरहेको छ। यो पहाडको निम्ति ऐतिहासीक दिन हो। आजसम्म कुनै पनि राजनैतिक दलले चालकको निम्ति यस्तो सोच राखेर काम गरेको थिएन। जीटीए चुनाउमा अनित थापाले दिनु भएको वचन आज पुरा भएको छ। सम्पूर्ण ट्रक ड्राइभर अनि मालिकहरूले अनित थापालाई धन्यवाद दिए।