सिलगढी (निसं): पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला सिलगढीमा शुरू भएको छ। प्रेस क्लब कोलकोता र युनीसेफ पश्चिम बंगालको संयुक्त आयोजनामा हिजोदेखि सम्पन्न भएको उक्त पत्रकारिता कार्यशालाको पहिलो दिन उद्घाटन कार्यक्रम सम्पन्न भयो। यस अवधि सहभागी पत्रकारहरूमाझ परिचय आदान प्रदान र कार्यक्रम विषयमा जानकारी गराइयो। यस क्रममा प्रेस क्लब कोलकोताका सभापति स्नेहाशिष सुरले स्वागत सम्भाषण राख्दै तीन दिवसीय पत्रकारिता कार्यशालाको कार्यक्रम विषयमा जानकारी गराए।
तिनले नै कार्यक्रमलाई सञ्चालन पनि गरेका थिए। यस क्रममा पहिलो दिनको कार्यशालामा युनिसेफ कम्युनिकेशन स्पेसियलिस्ट सुचोरिता बरदान, डा. उमा शंकर पाण्डे र सलेशियन कलेज सिलगढीका उप प्राचार्य रेभरेन्ट फादर सीएम पावलले आफ्नो पत्राकरिता र स्वास्थ्य सुरक्षा विषयमा उद्घाटनी सम्भाषण राखे। यस तीन दिवसीय पत्रकारिता कार्यशालामा पश्चिम बंगाल राज्यभरिका पत्रकारहरू उपस्थित थिए। यस पत्रकारिता कार्यशालामा नेपाली भाषाको पत्राकारिता क्षेत्रबाट अतित थापा (डुवर्स), लेनिन राई (गोरूबथान), बिनोद प्रसाई (मिरिक) र हनोक थापा (खरसाङ) आदि सहभागी थिए।