खरसाङ ( 21 अप्रेल) : आज तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउनको लागि विभागीय रूपमा अन्तिम सर्वेक्षण गरियो। आज गरेको सर्वे अनुसार अब केही दिनमा नै यस क्षेत्रमा जीटीए प्रमुख कार्यपाल अनित थापाको सहयोगमा क्षेत्रीय सभासद नवराज छेत्रीले तीनधारे क्षेत्रका सम्पूर्ण क्षेत्रवासीहरुलाई तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाएर उपहार दिने भएका छन्। मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउने योजनालाई आज अन्तिम रुप दिन खरसाङ इञ्जिनियरिङ विभागबाट सहायक अभियन्ता बिपिन प्रधान अनि सह सहायकको विशेष टोलीले सर्वेक्षण गऱ्यो। विभागीय टोलीसित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित थिए।
अब यहाँ एउटा नयाँ खेल मैदान बनिने तय भएकोले सबैमा खुशीको माहौल बनेको छ। मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियमको रूप दिने कार्यको लागि क्षेत्रवासीहरुले खुशी प्रकट गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन्। मिठाईडाँड़ा खेल मैदानको विभागीय सर्वेक्षणपछि स्थानीयहरूको पक्षमा मिलन प्रधान, बिनयकुमार छेत्री, सनबहादुर तामाङ, सीबी भुजेल र पूर्व फुटबल खेलाड़ी धर्मराज राणाले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियमको रूपमा तयार गरिने भएकोमा खुशी व्यक्त गर्दै जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन् ।