रम्फू/टिस्टा (निस): उत्तर सिक्किममा गत अबेर राति ड्याम भत्केपछि यसले गर्दा नदीको जल स्तर बढेर सिक्किम राज्यको जोरथाङ, सिङ्ताम, रम्फू, मल्ली आदि क्षेत्रहरूमा यसले नदी छेउका घर, वाहनहरू बगाएर लैजानको साथै व्यापक क्षति पुर्याएको छ। यसको साथै ड्याम भत्केपछि यता बङ्गालमा पनि टिस्टा नदीको जल स्तर निक्कै माथि पुग्नको साथै धेरै ठाउँहरूमा टिस्टा नदीले क्षयक्षति पुर्याएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार बङ्गालको राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने रम्फू, सिङ्तामका नदी छेउमा रहेका धेरैवटा घरहरू सहित वाहन तथा सिक्किम-रम्फू निर्माणाधीन प्रोजेक्टको कार्यलाई पनि व्यापक क्षति पुर्याउनको साथै धेरैवटा सर-समानहरू सहित वाहन टिस्टा नदीले बगाएर लगेको बताइएको छ।
अर्कोतिर, ड्याम भत्केपछि उत्तर सिक्किमको धेरैवटा क्षेत्र लगायत रम्फू, सिङ्ताम, जोरथाङ, मल्ली आदि क्षेत्रका नदी किनारहरू रहेको गाउँहरूलाई अत्याधिक क्षति पुर्याएको जानकारी पाउनसाथ सिक्किमका मुख्यमन्त्री पीएस गोलेले यी घटनास्थलहरूको निरीक्षण गरेका छन्। यसैगरी, टिस्टामा पनि नदीको जल स्तर निक्कै माथिसम्म पुगेपछि नदी छेउछाउको धेरैवटा घरहरू लगायत ग्यारेजलाई पनि क्षति पुर्याउनको साथै केही घरहरू नदीले बगाएर लगेको छ। यसबाहेक राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 27 माइल हाइड्रो पावर प्रोजेक्ट नजिकमा रहेको नदी किनारको बाङ्गे बजारका केही अस्थायी घरहरू समेत टिस्टा नदीले बगाएर लगेको छ। यसैगरी, टिस्टाको जल स्तर अत्यधिक बढेपछि राष्ट्रिय राजमार्ग 10 अन्तर्गत धेरैवटा ठाउँहरूमा मूल सडकसम्म नदीको पानीले भरिएपछि आज बिहान उक्त मार्ग भएर चलाचल गर्ने सबै वाहनहरू बन्द रह्यो। भयावह दुर्घटनामा हालसम्म 3 जनाको शव फेला पारिसकेको छ भने 50 जना भन्दा अधिकलाई उद्धार गरिसकेको एसपी गान्तोकले जानकारी दिएको छ।