खरसाङ : राज्य सरकारको विभिन्न योजनाहरू जनताले उपभोग गरोस् भनेर शुरु गरिएको द्वारे सरकार विषयमा आज खरसाङ महकुमा शासक आईएएस एजाज अहमदद्वारा पत्रकार सम्मेलन गरेर जानकारी गराइयो। पत्रकारहरुसित कुराकानी गर्दै महकुमा शासकले यसपाली द्वारे सरकारको क्याम्प आगामी 16 अगस्तदेखि शुरु हुने र खरसाङ नगरपालिका क्षेत्रमा जम्मा 10 वटा द्वारे सरकारको क्याम्प राखिने बताएका छन्। तिनले नगरपालिका क्षेत्रमा एउटा क्याम्पमा दुईवटा वार्डहरूलाई सामेल गराउने जानकारी दिँदै यसपाली द्वारे सरकारमा गत वर्षको तुलनामा केही नयाँ योजनाहरू थपिएर मोठ 19 वटा सरकारी योजनाहरूलाई जनताले उपभोग गर्न पाउने पनि बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै महकुमा शासक आईएएस एजाज अहमदले कुनै पनि योजनाको फारम बाहिर कतै नपाउने तर सबै प्रकारको फारमहरू केवल द्वारे सरकारको क्याम्पमा मात्र प्राप्त गर्न सकिने र जनताले कसैको लहलहमा आएर कतैबाट पनि फारम नलिने अनि यदि कसैले फारम दिने दाबी गर्छन् भने त्यो गलत कुरा हो, जुन अमान्य हुनेछ र कुनै प्रकारको पनि सहयोग केवल द्वारे सरकारको क्याम्पमा मात्र प्राप्त गर्न सक्ने बताएका छन्। तिनले फारममा द्वारे सरकारको आईडी लेखिएको छ भने मात्रै मान्य हुने नत्र कसैले सहयोग गर्न चाहे त्यो अमान्य हुने पनि बताएका छन्। तिनले कुनै पनि योजनाको लागि द्वारे सरकारको क्याम्पमा आएर प्रथममा रेजिस्टेशन गर्नु आवश्यक रहेको र यदि कसैकोमा कुनै कागज पत्रहरू छैन भने क्याम्पमा आएर रेजिस्टेशन गर्नुपर्ने अनि त्यसपछि चाहिएका कुराहरू बनाइनेछ भनी बताएका छन्।
