सिलगढी : तस्करी गर्न अगावै पुलिसले फुलबारी टोल प्लाजाबाट 400 लिटर काँचो स्प्रिट उद्धार गर्नको साथै 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा रञ्जित थापा र पइजार हुसेन सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति घोषपुकुरबाट एउटा पिकअप भ्यानमा 2 वटा ड्रममा 400 लिटर काँचो स्प्रिट लिएर वीरपाडातर्फ गइरहेको एनजेपी थाना पुलिसले गोप्य सुँइको पाएपछि पुलिसले फुलबारी टोल प्लाजामा अभियान चलाएर एउटा वहानलाई रोकेर छानबीन गर्दा 400 लिटर काँचो स्प्रिट उद्धार गरेको बताइएको छ। पुलिसले घटनामा 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका 2 जना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। नकली देशी तथा विदेशी रम-रक्सी बनाउनको लागि उक्त काँचो स्प्रिट प्रयोग गर्ने गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
