राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले तस्करी गर्न अगावै लगभग 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति रायपुरको छत्तीसगढ़ निवासी रितेश कुमार जौहरीको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा आज बिहान बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको पानीकौरी इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लाखौँ रुपियाँको बर्मा टीक काठ उद्धार गरेको छ। घटनामा वाहन चालकलाई पनि पक्राउ गरेको छ। जफत गरेको बर्मा टीक काठको अनुमानित बजार मूल्य 40 लाख रुपियाँ रहेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त काठ गुवाहाटीबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ। पक्रा परेका व्यक्तिलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।