सिलगढी : डीआरआई-ले 1 किलोभन्दा अधिक सुन सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नारायण शर्मा र कुबेर प्रसाद खतिवडा सामेल छन्। तिनीहरूमध्ये नारायण असम र कुबेर मणिपुर निवासी हुन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा डीआरआई-को सिलगढी युनिट टीमले हिजो राजगञ्जको फाटापुकुर पानीकौरी टोल प्लाजा नजिक अभियान चलाएर असम नम्बर भएको एउटा वाहनलाई रोकेर छानबीन गर्दा वाहनको बेक्र कभरभित्र 8 पीस सुनको चुरा उद्धार गर्यो। उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि वाहनमा सवार 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यस विषयमा डीआरआई पक्षका वकील रतन बनिकले बताएअनुसार उद्धार गरेको सुनको ओजन लगभग 1 किलो 163 ग्राम रहेको छ, जसको अनुमानित बजार मूल्य लगभग 68 लाख, 62 हजार रुपियाँ आँकेको छ। उक्त सुन असमदेखि सिलगढी हुँदै नेपाल तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।
