राजगञ्ज : चार महीनासम्म बन्द अवस्था रहेको राजगञ्जको रजनी चियाकमान आजदेखि खोलियो। गत 3 सेप्टेम्बरमा वेतन, बोनस लगायत विभिन्न मागहरूलाई लिएर उक्त चियाकमानका श्रमिकहरूले आन्दोलन गरेपछि मालिकपक्षले कमान बन्द गरेको थियो। चियाकमान बन्द भएपछि उक्त कमानमा कार्यरत लगभग 75 जना श्रमिकहरूले निक्कै समस्या भोग्दै आइरहेका थिए भने आजदेखि उक्त चियाकमान खोलिएपछि चियाश्रमिकहरूमा खुशीको लहर छाएको छ। तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका केन्द्रीय कमिटीका संयुक्त महासचिव तपन दे-ले बताएअनुसार उक्त चियाकमान गत 4 महिनादेखि बन्द अवस्थामा रहेको थियो। कमानका मालिकसित कुराकानी गरेपछि आजदेखि चियाकमान खोलिएको साथै आउँदो 15 दिनको अवधिमा चिया श्रमिकहरूको वेतन, बोनस र ग्रेच्युटीको बकाया राशि भुगतान गर्ने कुरामा मालिक पक्षले सहमति जनाएको तिनले बताए। उक्त चियाकमान नयाँ वर्षको पहिलो हप्तामा खोलिएको साथै मालिकपक्षसित चर्चा गरेपछि श्रमिकहरूको बकाया राशि भुगतान गर्ने भएको रजनी चियाकमानका म्यानेजर मन्तोष रायले बताए।