आत्मरक्षाको लागि बीएसएफ-ले गाई तस्करहरूमाथि चलायो गोली, एकजना बङ्ग्लादेशी तस्करको मृत्यु

राजगञ्ज, 8 मार्च (निसं): भारत-बङ्लादेश सीमा नजिक काँडाको तार काटेर गाई तस्करी गरिरहेको समय बङ्लादेशी तस्करहरूलाई बीएसएफ-ले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। यो घटना बिहीबार अबेर राती राजगञ्ज ब्लकको कुकुरजान ग्राम पञ्चायतको खालपाडा क्षेत्रमा घटेको हो। हालसम्म मृतक तस्करको पहिचान हुन सकेको छैन। बीएसएफ सूत्र अनुसार बिहिबार अबेर राती बङ्लादेशबाट 15-20 जना बदमास उक्त क्षेत्रमा प्रवेश गरे। केही तस्करहरूले काँडाको तार काटेर बङ्लादेशमा गाई तस्करी गरिरहेका थिए। त्यस समय गश्ती लगाइरहेका बीएसएफ-का जवानहरूले तस्करहरूलाई आत्मसमर्पण गर्ने अपिल गरे तर तस्करहरूले आत्मसमर्पण नगरेर उल्टै जवानहरूलाई लट्ठी र धारिलो हतियारले आक्रमण गर्दा एकजना जवान घाइते भए। त्यसपछि बीएसएफ-लाई आत्मरक्षाको लागि गोली चलाउन वाध्य बनाइएको थियो। त्यस अवधि तस्करहरू अन्धकारको फाइदा उठाएर भागे, तर एकजना बङ्लादेशी तस्करलाई बीएसएफले चलाएको गोली लाग्यो। त्यसपछि तिनलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। घटनास्थलबाट दुई वटा गाई र हमलामा प्रयोग गरेको लट्ठी र धारिला हतियारहरू उद्धार गरिएको छ। बीएसएफ-ले सम्पूर्ण घटनाको जानकारी राजगञ्ज आउटपोस्ट पुलिसलाई दिएको छ। पुलिसले घटनाको जाँच गर्दै अपराधीको पहिचान गर्न जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *