दार्जिलिङ : दार्जिलिङको पुरानो राजनैतिक पार्टी अखिल भारतीय गोर्खा लीगको प्रताप खाती समूहले आज दार्जिलिङको राजभवनमा राज्यपाल जगदीप धनखड़सित भेट गर्यो। उक्त भेट अवधि राज्यपाललाई दार्जिलिङ पहाडका मानिसहरूको दीर्घदिनदेखिको जन आकाङ्क्षा छुट्टै राज्यबारे अवगत गराए। बङ्गाललाई विभाजन गर्ने हालमा चलिरहेको चर्चाहरूबीच दार्जिलिङ पहाडलाई पनि बङ्गालबाट अलग गराएर राज्य गठन गरिनुपर्ने माग गरिएको गोर्खालीगका नेता प्रताप खातीले पत्रकारहरूलाई जानकारी गराए। राज्यपाललाई भेटेपछि पत्रकाहरूसित कुराकानी गर्दै राज्यपालसितको भेटवार्ता सराकारात्मक रहेको साथै आफूहरूको दीर्घ दिनदेखिको माग अलग राज्यबारे राज्यपाललाई अवगत गराएको बताए। उत्तरबङ्गाललाई यदि अलग राज्य गठन गरियो भने पनि दार्जिलिङ पहाडलाई यसबाट अलग राखिनुपर्ने बारे राज्यपालसितको भेटमा आफूहरूले जनाएको खातीले बताए।
