सिलगढी : दुई दिनदेखि लगातार परिरहेको पानीले गर्दा जल निकासी व्यवस्था बेहाल अवस्थामा रहेको छ। विभिन्न ठाउँको हाइड्रेनहरूमा फोहोर-मैला जम्मा भएर जल निकासी व्यवस्थामा अड्किने गरेकोले सिलगढी नगरनिगमको धेरैजसो वार्डहरू जलमग्न भएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज 5 नम्बर वार्डको गङ्गा नगर इलाकाको निरीक्षण गरे। यस अवधि तिनले यहाँको हाइड्रेनहरूको जल निकासी व्यवस्थाको निरीक्षण गर्नको साथै नगरनिगमका सफाईकर्मीहरूलाई हाइड्रेनमा जमेको फोहोर-मैला सफा गर्न लगाए। यस अवसरमा गौतम देवले सिलगढी नगरनिगमको पुरानो बोर्डले कुनै काम नगरेको आरोप लगाए। नगरनिगमको धेरैवटा वार्डहरूको प्रशासक बोर्डले सर्भे गरिसकेको छ भने हाल वर्द्धमान रोडमा सर्भेको काम चलिरहेको छ। यसको रिपोर्ट पीडब्ल्युडी डिपार्टमेन्ट तथा अन्य इञ्जिनियरिङ डिपार्टमेन्टलाई पठाएर हाइड्रेन निर्माण गरेर नदीको पानी फ्याँक्ने कार्य शुरू गर्ने तिनले बताए।