सिलगढी : अत्याधिक वर्षाले गर्दा सिलगढी नगरनिगमको केही इलाका जलमग्न बनेको छ भने चम्पासरीको रेगुलेटेड मार्केट पोखरीमा परिणत भएको छ। रेगुलेटेड मार्केटमा घुँडासम्म पानी जमेकोले व्यवसायीहरूले गद्दीमा राखेको काँचो समानहरू पानीले भिजेर नष्ट भएको छ। यसले गर्दा व्यवसायीहरूलाई निक्कै नोक्सानको सामना गर्न परिरहेको छ। रेगुलेटेड मार्केटमा निकासी व्यवस्था राम्रो नभएकोले गर्दा नै प्रत्येक वर्ष वर्षाको समय रेगुलेटेड मार्केट पोखरीमा परिणत हुने गर्दछ। यसले गर्दा व्यवसायीहरूले धेरै नोक्सान झेलिरहेका छन् भने यहाँ काम गर्ने मजदुरहरूलाई बस्ने तथा खानाको समस्या हुने गर्दछ। चुनाउको समयमा सबै राजनैतिक पार्टीले उक्त समस्याको समाधान गरिदिने वाचा गरे तापनि हालसम्म यसको समाधान भने गरिएको छैन। रेगुलेटेड मार्केटका व्यवसायीहरूले बताएअनुसार अधिक वर्षाले गर्दा गद्दीमा पानी पसेपछि यहाँ राखिएको काँचो सर-समानहरू नष्ट भएको छ। यहाँ प्रत्येक वर्ष यस्तै परिस्थिति हुने गर्दछ। यसबारे धेरैपल्ट प्रशासनलाई अवगत गराए तापनि यसको समाधान भएको छैन। रेगुलेटेड मार्केटका मजदुरहरूले बताएअनुसार वर्षाको पानी गोदामभित्र पसेकोले गर्दा आफूहरूलाई बस्न साथै खाना पकाउन समेत धेरै समस्या भइरहेको छ। प्रशासनले यस तर्फ ध्यान दिन आवश्यक रहेको तिनीहरूले बताए।