सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले धेरै मात्रामा गाँजा सहित 2 जना महिलालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा गौरी देवनाथ उर्फ जशोदा र ममता दास सामले छन्। प्राप्त जानकारी अनुसार गत राति गौरी र ममता गाँजा बिक्री गर्ने उद्देश्य लिएर सालबारीको नयाँ बस्तीमा आइपुगेको स्थानीय मानिसहरूले सुइँको पाएपछि दुवै महिलालाई पक्रेर पुलिसलाई खबर दिए। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर महिलाहरूको ब्याग छानबीन गर्दा 5 किलो गाँजा उद्धार गरेको बताइएको छ। पुलिसले दुवै महिलालाई पक्राउ गरेर थाना लगे। पक्रा पर्ने महिलाहरूले बताएअनुसार एनजेपीबाट कसैले तिनीहरूलाई उक्त गाँजा बिक्री गर्नको लागि पठाएको हो। यसको लागि तिनीहरूले 2 हजार रुपियाँ पाउने थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
