दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डले आफ्नो वचन पूरा गर्दै सिंहलिला वेलफेयर सोसाइटीलाई प्रथम चरणको सहयोग पुर्याउँदै 50 हजारको चेक सोसाइटीका सदस्य पीटी ओलालाई प्रदान गरेका छन्। अजय एड्वर्डले जानकारी दिए अनुसार सोसाइटीलाई सहयोग पुर्याउन तिनले वचन दिएका थिए तर व्यस्तताको कारण ढिलाइ भए तापनि आज आफ्नो वचन पूरा गर्दै पहिलो चरणको निम्ति सहयोग प्रदान गरे। यसको साथै तिनले दोस्रो चरणको सहयोग पनि चाँडैं गर्नेछु भनी बताए। तिनले भने, एडवर्ड्स फाउण्डेसनले पनि आइसोलेसन सेन्टर बनाउन भरपुर प्रयास गरेको थियो तर कतिपय सरकारी निर्देशहरूलाई पालन गर्नु पर्ने भएकोले गर्दा ग्लेनेरिजमा आइसोलेशन सेन्टर बनाउन असमर्थ भयौ। तिनले दार्जिलिङ पहाडका विभिन्न अस्पताल अनि नर्सिङ होममा अक्सिजन कन्सनट्रेटर दिएको फलस्वरूप आजसम्म 4200 बिरामीहरू निको भएको दावी गरे। राजनीति आफ्नो ठाउँमा छ, मानवता माथि सङ्कट आइपर्दा सबै एक हुनुपर्छ र आउँदो दिनहरुमा आफ्नो जातिलाई आइपर्दा यसरी नै सबै एक हुनपर्छ भनी अजय एड्वर्डसले सबैसित अपील गरेका छन्। सिंहलिला वेलफेयर सोसाइटीको तर्फबाट पीटी ओलाले अजय एड्वर्डलाई धन्यवाद दिँदै भने, यसरी नै आफ्नो जातिलाई परि आएको खण्डमा एक हुनपर्छ, मानवता माथि आएको संकट अवधि राजनीति भुल्नु पर्छ र एक अर्कामा आँखा तर्ने प्रथालाई छोडनु पर्छ। चुनाउ त आउँछ जान्छ तर दार्जिलिङलाई कसरी भलो हुन्छ त्यसतर्फ सबै एक भएर लाग्नु पर्छ भनी पिटी ओलाले बताए।