सिलगढी : अमरसिंह राईले सिलगढी-जलपाईगढी डेभलपमेन्ट अथोरिटी (एसजेडीए)-को उपाध्यक्षको पदभार आजदेखि सम्हाले। आगामी 28 अगस्तको दिन सहरी विकास मन्त्री चन्द्रिमा भट्टचार्यले सिलगढीमा एसजेडीए अधिकारीहरूसित बैठक गर्ने भएकी छन् भने उक्त बैठकमा अमरसिंह राई पनि उपस्थित रहनेछन्। बैठकको लगत्तै अर्को दिन मन्त्री चन्द्रिमा भट्टचार्यले एसजेडीएको टोलीसित जलपाइगढ़ी क्षेत्रको परिभ्रमण गर्ने भएकी छन्। एसजेडीएको नयाँ बोर्डले क्षेत्रीय स्तरका मानिसहरू अनि प्रशासन अधिकारीहरूमाझ तालमेल राखेर काम गर्ने योजना बनाएको एसजेडीए अध्यक्ष सौरभ चक्रवर्तीले बताएका छन्। तिनले बताएअनुसार सिलगढ़ी, जलपाइगढी अनि मालबजार क्षेत्रमा एसजेडीएअन्तर्गत चलिरहेको सबै परियोजनाहरू निकट भविष्यमा नै पुरा गरिनेछ। यसै क्रममा स्टेट अर्वन डेभलपमेन्ट एजेन्सी (SUDA)-ले एसजेडीएलाई महानन्द एक्सन प्लानको अभिभार पनि सुम्पिएको छ भने उक्त परियोजनाको लागि लगभग 62 करोड़ रुपियाँ आवन्टन गरिएको बताइएको छ। एसजेडीएले उक्त परियोजनाअन्तर्गत लाटागुढ़ीमा इको पार्क निर्माण गर्ने तथा जलपेशमा अडेटिरोयिम, हिमाचल बिहारमा गेस्ट हाउस तथा चियाबगानहरूमा पिउने पानीको परियोजना, सड़क, पुल अनि बाइपास आदिको निर्माण कार्य गरिने भएको छ।
