खरसाङ : कोरोना महामारीसँग लड़दै, जुझ्दै, सिङ्गौरी खेलेर भए पनि वर्तमान शैक्षिक सत्रको पाठ्यक्रम पूरा गरको छ खरसाङको अम्बटे चियाबारीस्थित नालन्दा निकेतन शैक्षिक संस्थानले। त्यति मात्र नभएर यस वर्षको वार्षिक परीक्षा पनि सफलतापूर्वक सम्पन्न गरेर विद्यार्थीहरूको परीक्षा परिणाम पनि वितरण गरिसक्यो। सोही अवसरमा पाँचघरे गाउँस्थित पाचवटा स्वनिर्भर समूह क्रमशः ज्योति, काव्यञ्जली, साहित्य, सुनगाभा अनि सुरक्षा दलहरूलाई विशेष संवर्द्धना पनि जनाइयो। सम्वर्द्धित सबै स्वनिर्भर दलहरुले नालन्दा निकेतन पाठशालाद्वारा आयोजना गरिएको रक्तदान शिविर लगायत अन्य विभिन्न कार्यक्रमहरूमा पूर्ण रुपले सहयोग गरे वापत ती दलहरूलाई आभार पत्र सहित संवर्द्धना जनाएको हो। संस्थानका प्राचार्य सुदर्शन प्रधानद्वारा आभार पत्र पढ़ेर सुनाए पछि शिक्षिका सुवर्ण थापा, सुदेशना प्रधान, नितु थापा र प्रियङ्का छेत्रीद्वारा सबै स्वनिर्भर दलहरुलाई सम्वर्द्धना पत्र प्रदान गरियो।

स्वनिर्भर दलहरूको पक्षमा बोल्दै भाग्य थापा गिरीले स्वनिर्भर दलहरु धेरै उद्देश्य र अभियान लिएर गठन गरिएको हुन्छ भनी जनाउँदै तीमध्ये स्वनिर्भर हुनु पहिलो उद्देश्य रहेको बताइन्। कार्यक्रमको अन्तमा विद्यार्थीहरूको परीक्षा फल वितरण साथै पाठशालाको पक्षबाट विद्यार्थीहरूलाई विशेष स्मृति चिन्ह पनि वितरण गरियो।
