खरसाङ: हाँस्य व्यङ्ग्यकार अमित सुब्बा ‘विकल्प’-को तेस्रो व्यङ्ग्य संग्रह ‘गिफ्ट‘-को आज लोकार्पण गरियो। खरसाङको एउटा होटलमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य विनोद रसाइलीको अध्यक्षता र प्राध्यापक डा. सुचन प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबीच उक्त हाँस्य व्यङ्ग्य संग्रहको लोकार्पण गरियो। अमित सुब्बा ‘विकल्प’-को तेस्रो व्यङ्ग्य संग्रह ‘गिफ्ट‘-को लोकार्पण सभाध्यक्ष विनोद रसाइली, प्रमुख अतिथि प्राध्यापक डा सुचन प्रधान र विशिष्ट अतिथिहरू बालकृष्ण थामी, प्रदीप शेर्पा, निरङ्कर थापा र कृतिकार अमित सुब्बा ‘विकल्प’-को बाहुलीबाट गरियो। स्रष्टा सञ्जीव छेत्रीद्वारा सञ्चालित कार्यक्रममा कृतिकार अमित सुब्बा ‘विकल्प’-द्वारा सबैलाई स्वागत जनाउँदै उपस्थितिको लागि धन्यवाद पनि दिए। कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा सुचन प्रधानले अहिले साहित्यकारहरूमा सेलिब्रेटी फोबिया रहेको बताउँदै अहिले सबैले आफ्नो कृतिको चर्चा भएको होस्, आफ्नो कृतिको समालोचना भएको होस् भनी चाहेको बताए। तिनले अहिले नेपाली साहित्यमा कसैले केही गरे सबैले त्यहीँ मात्र गर्ने चलन बेसी रहेको भन्दै नेपालमा अहिले फिक्सन लेखनको प्रचलन बढ़ेको पनि बताए। प्रधानले नेपाली साहित्यमा व्यङ्ग्य कम्ती लेखिएको विधा रहेको र यो खड़ेरी अवस्थामा पनि अमित सुब्बा ‘विकल्प’-ले तीनवटा हाँस्य व्यङ्ग्य कृति प्रकाशित गर्नु ठूलो कुरा रहेको बताए। कार्यक्रममा बालकृष्ण थामी, प्रदीप शेर्पा, निरङ्कर थापा र शम्भु राईले पनि आ-आफ्नो वक्तव्य राखे। कार्यक्रममा सभाध्यक्ष विनोद रसाइलीले व्यङ्ग्य विधामा खड़ेरी परेको समय अमित सुब्बा ‘विकल्प’ हामीमाझ व्यङ्ग्यकारको रूपमा हुनु सौभाग्य हो भन्दै व्यङ्ग्यकारले अहिलेघरि निर्वाह गर्नु पर्ने धेरै उत्तरदायित्व छ भनी बताए। कार्यक्रमपछि सानो कवि गोष्ठी पनि सम्पन्न भयो जसमा टेबल टोली खरसाङको तर्फबाट आ-आफ्नो कविताहरू सुनाउने र सुन्ने रहेको थियो। यसमा बालकृष्ण थामी, प्रदीप शेर्पा, निरङ्कर थापा, विनोद रसाइली, शम्भु राई, अमीत सुब्बा विकल्प, सुचन प्रधान, हनोक थापा, नितेस राई आदिले कविता, कथा, गीत, मुक्तक आदि पठन गरे।
