खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाद्वारा सञ्चालित मिशन श्वास अनि खरसाङ रिकभरी ग्रुपको संयुक्त तत्वावधानमा आज 26 मार्चदेखि 10 अप्रेल 2022 सम्म खरसाङको नयाँ बजारस्थित टाउन हलमा दुर्व्यवसनमा लागेका युवा-युवतीहरुको निम्ति नि:शुल्क डिटक्सिफिकेसन क्याम्प (नशामुक्त शिविर) शुरू भएको छ। खरसाङलाई ड्रग्स मुक्त शहर बनाउने पहलमा यो क्याम्प परिचालन गर्नुको मुख्य उद्देश्य रहेको कुरा डिटक्सिफिकेसन क्याम्पको सभापति सुरजमणि प्रधानले बताए। यसैगरी, क्याम्प संयोजक आनन्द छेत्रीले बताए अनुसार यो क्याम्प आगामी 15 दिनसम्म चल्नेछ। यो क्याम्पबाट यदि कसैलाई उच्च चिकित्साको निम्ति लैजानु पर्ने अवस्था छ भने तिनीहरुलाई लगिने छ। यसको साथै तिनले भने, खरसाङ महकुमा अस्पताल, खरसाङ नगरपालिकाले चाहिएको सहयोग दिएको छ। यस्तो किसिमको क्याम्प खरसाङमा पहिलो पल्ट भएको हो। यसैगरी, दार्जीलिङबाट आएका सल्लाहकार किरण प्रधानले बताए अनुसार कुलतलाई समाजले नराम्रो नजरले हेर्छन तर यो निको हुने विरामी हो। मिसन स्वासको पक्षबाट बोल्दै क्याम्प संयोजक समीर दीप ब्लोनले भने, मिशन श्वास अनित थापाको सामाजिक कार्य हेर्ने संगठन हो। यो संगठनले कोविदको संक्रमणकालमा धेरै कार्य गर्यो। आज हामी खरसाङका युवाहरुको भविष्यलाई ध्यानमा राखेर रिकभरी ग्रुपसँग मिलेर काम गर्न अघि आएका छौ। व्यक्ति निर्माण गर्नु भनेको नै समाज निर्माण गर्नु हो भन्ने अनित थापाको सोंच रहेको छ। यसै उद्देश्य लिएर नै यो क्याम्पसँग हामी जोडिएका हौ।
