सिलगढी, 19 सेप्टेम्बर (निसं): जन्म पछि एकजना नवजात शिशुको अस्पतालमा मृत्यु भयो। त्यसपछि शवलाई दफन गर्नका लागि अस्पतालको एकजना सफाइ कर्मीले दम्पतीबाट तीन हजार रुपियाँ लिएको र त्यसपछि मृत नवजात शिशुको शवलाई फोहोरको थुप्रोमा फ्याँकिदिएको आरोप लागेको छ। प्राप्त जानकारी अनुसार बुधबार साँझ सिलगढीको विवेकानन्द रोडमा फोहोरको थुप्रोबाट एकजना नवजात शिशुको शव उद्धार गरियो। घटनाको सूचना पाउने बित्तिकै खालपाडा आउट पोस्ट थाना पुलिस घटनास्थलमा पुगेर उक्त मृत नवजात शिशुको शव उद्धार गऱ्यो। उक्त घटनापछि थाहा लागे अनुसार कालेबुङका एकजना महिला सिलगढी जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। उक्त महिलाले नवजात शिशुलाई जन्म दिएकी थिइन्, तर नवजातको मृत्यु भएको थियो। त्यसपछि नवजातको बुबाले एकजना सफाई कर्मीलाई बोलाएका थिए। सोही अनुसार सफाई कर्मीले नवजातलाई दफनाउनका लागि तीन हजार रुपियाँ लिएको आरोप छ। त्यसपछि सफाई कर्मीले मृत नवजातको शव फोहोरको थुप्रोमा फ्याँकिदिएको बताइएको छ। यो घटना प्रकाशमा आएपछि अस्पतालका अधिकारीहरूले यस मामिलाको जाँच शुरू गरेका छन्।