अभिभावकको नाताले विनय तामाङले आफूसित भेट गरेको बिमल गुरूङको दावी  

दार्जिलिङ :  2017-को गोर्खाल्याण्ड अन्दोलनकालपछि छुट्टिएर अलग भएको लगभग 4 वर्षपछि हिजो साँझ विनय तामाङ र बिमल गुरूङमाझ दार्जिलिङको पत्ताबुङस्थित आवासगृहमा एउटा बैठक भएको कुरालाई स्वयम् गोजमुमो अध्यक्ष बिमल गुरूङले जनाएका छन्। तिनले उक्त भेटघाट विषयलाई लिएर आज पात्लेबाँसस्थित पार्टी कार्यालयमा दिएको जानकारी अनुसार हिजो बुधबार साँझमा भएको भेटघाटमा घरेलु विषयहरूमा कुराकानी भएको बताए। आफू एकजना पहाडको अभिभावक भएको नातामा कसैले पनि आफूलाई आएर भेट्न सक्ने दावी गर्दै बिमल गुरूङले उक्त भेटलाई राजनैतिक नभएर केवल एउटा पारिवारिक भेट मात्र रहेको बताएका छन्। तथापि, उक्त भेट अवधि घरेलु कुराकानी बाहेक पहाडको वर्तमान परिस्थिति अनि पहाडको विविध समस्याहरूलाई लिएर चर्चा गरिएको कुरालाई तिनले स्वीकार गरेका छन्। राजनैतिक नेतृत्वहरू यसरी आपस्तमा भेट हुँदा पुनर्मिलन भएको केवल होहल्ला मात्र हो तर हाम्रो भेट केवल घरेलु भेटघाट मात्र रहेको हो भनी बिमल गुरूङले लगभग एक घण्टासम्म चलेको बैठकमा भएको गोप्य कुराहरू सार्वजनिक गर्न चाहेनन्। तिनले एउटा प्रश्नको जवाबमा भाजपा सरकारको खोइरो खन्दै भाजपा गोर्खाहरूप्रति ईमान्दार नरहेको कुरा पुनः दोहोर्‍याए। तिनले हालै दिल्लीमा दार्जिलिङका सांसद, विधायकगण तथा गठबन्धन टोलीका नेताहरूको भेटवार्तालाई केवल जनतालाई झुक्याउने कार्य मात्र गरेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *