सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट अवैध अतिक्रमणविरुद्ध अभियान चलाएर आज यहाँको एसएफ रोडबाट अतिक्रमण हटायो। सडकहरूमा दोकान तथा अवैध निर्माणहरू गरेको अभियोग पाएपछि सिलगढी नगरनिगमले आज बिहानदेखि अभियान चलाएर केही अवैध निर्माण भत्काइदिएको छ। उक्त अभियान अवधि सिलगढी एसएफ रोडको दुवै किनारमा अवैध रूपमा बनाएको दोकान र निर्माणहरू भत्काइदिएको छ। अवैध निर्माण भत्काउने क्रममा नगरनिगमका अधिकारी तथा इञ्जिनियरहरूले स्थानीय मानिसहरूको विरोधको सामना गर्नपर्यो। यसपछि सिलगढी पुलिसको सहयोगमा परिस्थिति सामान्य गरियो। पुलिसको उपस्थितिमा 2 घण्टाको अवधिमा दोकानहरू लगायत अवैध निर्माणहरू भत्काइदिएको बताइएको छ। एसएफ रोडको दुवै किनारमा धेरै दिन अघिदेखि सरकारी जमिन र सडक दखल गरेर केही दोकानहरू बनाइएको थियो। यसबाहेक केही फास्ट फुड, रेस्टुरेन्ट लगातय केही दोकानेहरूले सडकमा अवैध निर्माण गरेको थियो। सडकमा लगाइएको साइनबोर्ड र होर्डिङहरू पनि हटाइयो। अर्कोतिर, एउटा जिम अघिबाट अवैध निर्माण भत्काउँदा जिम प्रबन्धन र नगरनिगमका अधिकारी तथा कर्मचारीहरूमाझ विवाद शुरू भयो। पछि पुलिसको हस्तक्षेपमा स्थिति सामान्य बन्यो।