मिरिक : मिरिक महकुमा अन्तर्गत पर्ने तराईको पानीघट्टादेखि 3 किलो मीटरमाथि बडाकोठीका युवाहरू मिलेर आज सडकको सफाई गरे। गत वर्ष गएको पैह्रोले गर्दा बडाकोठी जाने सडकमार्ग भएर आवत-जावत गर्ने निक्कै असुविधा भइरहेको थियो भने यस वर्ष अधिक परेको पानीले गर्दा गाउँलेहरू असुविधामा परेका छन्। यसैले बडाकोठीका युवाहरू आफै सडकमा ओर्लिएर उक्त सडक मार्गको सर-सफाई गरेको बताइएको छ। स्मरण रहोस्, मिरिक महकुमा अन्तर्गत पर्ने तराईको पानीघट्टादेखि 3 किमी माथि बडाकोठीको बाटो गत 2020-को अविरल वर्षाले पैह्रो ग्रस्त भएको थियो। गाउँलेहरूले यसबारे सम्बन्धित विभागलाई पत्रचार गरे तापनि कुनै पहल नगरेपछि गाउँका युवाहरू मिलेर उक्त सडकको सफाई गर्न बाध्य बनेको स्थानीय मानिसहरू बताउँछन्। हाल, कोरोना महामारीको समयमा गाउँका बुडा पाखाहरूलाई यहीँ बाटो भएर कोभिडको भ्याक्सिन लगाउन पानीघट्टाको उपस्वास्थ्य केन्द्रमा लैजान पर्ने भएकोले सम्बन्धित विभागले चाँडै यो सडक बनाइदिने गाउँलेहरूले अपील गरेका छन्।
