बकाया राशिको मागमा राजगञ्ज बीडीओ कार्यालय अघि धरनामा बसे भीडियोग्राफरहरू

सिलगढी : बकाया राशिको मागमा भीडियोग्राफरहरू राजगञ्ज बीडीओ कार्यालय अघि धरनामा बसेका छन्। तिनीहरूको दावी अनुसार गत विधानसभा चुनाउ अवधि भीडियोग्राफीको कामको लागि प्रदान गरिने लगभग 14 लाख रुपियाँ हालसम्म दिएको छैन। यस सम्बन्धमा बुलनचन्द र प्रसेनजीत बड़ाईले भने,  2021-को विधानसभा चुनाउमा तिनीहरूलाई बीडीओ कार्यालयद्वारा राजगञ्ज ब्लकमा भीडियोग्राफी गर्नको लागि बोलाएको थियो। उक्त निर्देश अनुसार भीडियोग्राफीको लागि 100 भन्दा अधिक युवकहरूलाई काममा लगाइएको थियो भने तिनीहरूको बिल लगभग 20 लाख रुपियाँ रहेको थियो। उक्त बिल दुई किस्तामा केवल 5 लाख रुपियाँ मात्र भुक्तान गरिएको छ। लगभग 2 वर्ष बितिसक्दा पनि आफूहरूलाई शेष राशि भुक्तान गरिएको छैन। आफूहरूसित ज-जसले काम गरेका थिए तिनीहरूले बारम्बार रुपियाँको लागि दबाउ दिइरहेको छ। यसबारे आफूहरूले ब्लक र जिल्ला प्रशासनलाई धेरैपल्ट आवेदन गरे तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर आफूहरू बकाया राशिको माग गर्दै धरनामा बसेका हौँ। अर्कोतिर, राजगञ्जका बीडीओ पंकज कोनारले भने, चुनाउ अवधि भीडियोग्राफीको काम गरेकोमा प्रदान गरिनुपर्ने लगभग 14 लाख रुपियाँ हालसम्म बाँकी रहेकोबारे ठेकेदारहरूलाई लिखित रूपमा जनाइसकेको छु। यसको साथै सम्बन्धित विभागबाट रुपियाँ पाएपछि बकाया राशि भुक्तान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *