सिलगढी : भाजपाले डाकेको 12 घण्टा उत्तरबंग बन्द अवधि आज बिहानदेखि सिलगढी सहरमा व्यापक उत्तेजनाको माहौल देखापर्यो। बन्दको समर्थनमा भाजपा कार्यकर्ताहरू सडकमा ओर्लिए। भाजपा कार्यकर्ताहरूले बन्दको समर्थनमा हिलकार्ट रोडमा र्याली निकाल्नको साथै सडक अवरोध गरे। यसैगरी, सहरको हासमी चोकमा भाजपाका कार्यकर्ता तथा समर्थकहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसपछि पुलिसले भाजपाका विधायक द्वय शङ्कर घोष र विधायक आनन्दमय बर्मन सहित अन्य आन्दोलनकारीहरूलाई पथ अवरोध गरेकोमा हिरासतमा लिएर जबरजस्ती बसमा चढाएपछि भाजपा कार्यकर्ता तथा समर्थकहरूले यसको विरोध जनाउँदै उक्त बसलाई अघि जान नदिएर सडकमै बसे। यसपछि पुलिसले तिनीहरूलाई हटाएपछि आवात-जावत सुचारू बन्यो। अर्कोतिर, बन्द समर्थकहरूले हिलकार्ट रोडमा एउटा सरकारी बसलाई रोकेर चालकसित अभद्र व्यवहार गर्नको साथै बसको ऐना फुटाइदिँदा उत्तेजनाको माहौल देखापर्यो। पुलिसले परिस्थिति नियन्त्रणमा ल्याउनको लागि लाट्ठीचार्ज गर्यो। भाजपाले कालियागञ्ज काण्डलाई लिएर बोलाएको 12 घण्टा बङ्गाल बन्दको अवधि आज सिलगढी सहरमा आंशिक असर परेको देखापर्यो भने अधिकजसो दोकानपाट तथा वाहनहरूक चलाचल सदा झैँ स्वाभाविक रहेको छ।
