सिलगढी : भाजपा राज्य अध्यक्ष दिलीप घोष आज दुई दिने उत्तर बंगाल भ्रमणमा सिलगढीको एनजेपी स्टेसनमा आइपुगेका छन्। कोलकाताबाट आज ट्रेनमार्फत् सिलगढीको एनजेपी स्टेसनमा आइपुगेपछि जलपाईगढी जान अघि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले तृणमूल कङ्ग्रेसलाई नयाँ तालिबानको संज्ञा दिँदै तृणमूलमाथि कटाक्ष कसे। लोकतान्त्रिक देशमा कुनै पनि पार्टीले कार्यक्रमको आयोजना गर्न नपाउने, केन्द्रीय मन्त्रीले राज्यको परिभ्रमण तथा यहाँका मानिसहरूसित भेटघाट गर्न नपाउने, यस्तो त केवल तालिबान शासनमा मात्र हुनसक्छ। बंगालमा नयाँ तालिबानी शासन चलिरहेको छ। गुन्डा तथा समाज विरोधीहरूलाई लिएर तृणमूलले शासन चलाइरहेको तिनले गम्भीर आरोप लगाएका छन्। राज्यमा तृणमूल पार्टीलाई जिताएर मानिसहरूले भुल गरेकोबारे थाहा पाइसकेको छ भनी तिनले बताए। शहीद सम्मान यात्रामा अंश ग्रहण गर्न साथै पार्टीको सांगठनिक आलोचनाको लागि तिनी दुई दिने उत्तर बंगाल भ्रमणमा आएको पार्टी सूत्रमार्फत् थाहा लागेको छ।