सिलगढी, 5 दिसम्बर (निसं): बंगीय बाउल र लोकशिल्पी संघ जलपाईगढी जिल्ला कमिटीले बांग्लादेशमा हिन्दू सन्तको पक्राउ अनि हिन्दूहरूमाथि भइरहेको अत्याचारको विरोध गर्दै विरोध प्रदर्शन गऱ्यो। बंगीय बाउल र लोकशिल्पी संघका सदस्यहरूले आज एउटा विरोध रैली निकाले। यो रैली इस्टर्न बाइपास संलग्न ढाकेश्वरी काली मन्दिर परिसरबाट सुरु भएको थियो र आशीघर मोडको परिक्रमा गरेर पुनः मन्दिर परिसरमा पुगेपछि समापन भएको थियो। बंगीय बाउल र लोकशिल्पी संघका सदस्यहरूले प्लाकार्ड र देशको राष्ट्रिय ध्वजसहित विरोध रैलीमा भाग लिएका थिए। तिनीहरूको सन्त चिन्मय कृष्ण दासलाई तुरुन्त रिहा गर्नु पर्ने साथै हिन्दूहरूमाथि हमला गर्ने र मन्दिरहरू नष्ट गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइनुपर्ने माग गरेका छन्। यसको साथै उनीहरूले मोहम्मद युनूसको राजीनाको पनि माग गरेका छन्।