रिम्बिक: भारत सरकारले डिजिटल इण्डियाको कुरा गरेतापनि अहिलेसम्म कतिपय दुर्गम गाउँहरुमा मानिसहरुले बाटोको सुविधा भने पाउन सकेका छैनन्। यसैक्रममा रिम्बिक लोधोमा समष्टिको सुदुरवर्ती क्षेत्र डाँडा गाउँ,शिरीखोला, राम्माङ अनि गोर्खे समान्देन जाने बाटोको अवस्था अति नै सोंचनीय भएकोले आज क्षेत्रका ड्राइभर अनि स्थानीय मानिसहरुले श्रमदान दिएर बाटोको नाली, झोडाको सफाई साथै बाटोको मरमति गरे। बाटोमा अलकत्रा नबिछ्याएकोले गर्दा हाल जीर्ण अवस्थामा पुगेकोले चालकहरु आफ्नो ज्यान हत्केलामा राखेर गाडी चलाउने गर्छन् भने बिमार भएको खण्डमा बिमारीहरु बाटोमा लाँदा लाँदै अकालै मुत्यु हुने गरेको स्थानीय मानिसहरूको भनाई रहेको छ। यसरी नै यस क्षेत्रका विद्यार्थीहरुलाई पाठशाला जान समेत धेरै समस्या भइरहेको कुरा गाउँलेहरु बताउँछन् । सम्बन्धित निकाय तथा विभागले क्षेत्रका मानिसहरुले भोग्दै आइरहेका समस्यालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो पक्का सडक बनाइदियोस् भनी गाउँलेहरुले अपील गरेका छन्।