सिलगढी : सिलगढी नगरनिगमको 4 नम्बर वार्डको कुमारटोली दुर्गानगर इलाकाको सडक बेहाल अवस्थामा पुगेको छ। वर्षाको समयमा पानी पर्नसाथ यहाँ वर्षाको पानी जम्ने गर्दछ भने सडकको पानी यहाँको धेरैवटा घरमा समेत पस्ने गर्दछ। इलाकाको मानिसहरूले धेरै समय अघिदेखि उक्त समस्याको सामना गर्दै आइरहेका छन्। स्थानीय मानिसहरूले बताएअनुसार इलाकाको सडक निक्कै संकीर्ण तथा बेहाल अवस्थामा पुगेको छ। यसबारे स्थानीय जनप्रतिनिधि तथा मेयरलाई बारम्बार पत्रमार्फत् जानकारी गराए तापनि कुनै पहल नगरेको गाउँलेहरूको आरोप रहेको छ। माध्यमिक परीक्षामा राज्यमा आठौँ स्थान ओगट्ने छात्रा जुनैना परबीन पनि यसै इलाकाको निवासी हुन्। तिनको बाबु जाकिर हुसेनले बताएअनुसार उक्त इलाकामा सडक लगायत एकाधिक समस्याहरू रहेको छ। प्रशासनको तर्फबाट उक्त समस्याहरूको समाधान गरिदिए राम्रो हुने तिनले बताए। स्थानीय निवासीले बताएअनुसार उक्त इलाकामा एकजना मेधावी छात्रा बसोबासो गर्ने भएकोले आफूहरूलाई निक्कै गर्व छ। तर हामी धेरै समस्याहरूले घेरिएका छौँ। विभिन्न ठाउँको पानी नदी झैँ यहाँको सडक भएर बग्ने गर्दछ। उक्त सडक भएर विद्यार्थीहरूलाई स्कुल जान पनि निक्कै असुविधा हुने गर्दछ। यसैले चाँडै उक्त सडकको मरमति लगायत अन्य विविध समस्याको समाधान गरिदिने तिनले माग पनि गरे। यस सम्बन्धमा स्थानीय काउन्सिलर विवेक सिंहले भने, इलाकाको समस्याहरूको चाँडै निरीक्षण गरेर यसको समाधान गरिदिने आशा साँचेको छु।
