खरसाङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भूपेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर जानकारी गराएअनुसार पहाड़को दशवटा चियाबारीहरू जो दार्जिलिङ अर्ग्यानिक टी कम्पनी लिमिटेड अन्तर्गत पर्दछन् आज ती चियाबारीहरू विगत 12-13 दिनदेखि बन्द रहेको छ। उक्त चियाबारीहरूमा बन्द डाक्नु एक दिन अघि लालकोठीमा जीटीए अध्यक्ष अनित थापा, दार्जिलिङ जिल्ला शासक, जीटीए सचिव सन्दिप चौधरी, चियाबारी मालिक पक्ष र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन नेतृत्वहरू सभा बसेका थिए। उक्त सभाको विषय के थियो, सभामा के छलफल गरियो र सभामा पहाड़को अन्य दलहरूलाई किन निम्ताएन त भन्ने जनचासोको कुनै स्पष्टीकरण नदिई अचानक दार्जिलिङ अर्ग्यानिक टी कम्पनी लिमिटेड अधिनस्थ चियाबारीहरू श्रमिकहरूलाई नजनाई भागोप्रमोले बन्द डाकेको हो। बन्द डाकेपछि कम्पनीले श्रमिकहरूको रोजको बकाया राशि चाँड़ै प्रदान गर्नुपर्छ भन्दै सड़कमा श्रमिकहरूलाई उतारेर नारा जुलूस र धरना शुरू गरे जो आज पर्यन्त जारी रहेको छ। यहाँ जनताले भागोप्रमो-लाई आफै बोक्सी आफै झाँक्री भएर उफ्रेको देखिरहेको छ किनकि भागोप्रमोले चिया बारीको सबै पक्ष र जिल्ला शासकसमेत बसेको बैठकबाट निस्केर बन्द डाक्नु भनेको बैठकमा बस्नेहरूको आपसी मेलमिलापमा नै गरिएको काम हो भन्ने प्रबल आशंका उब्जन्छ। यहाँ बन्दले श्रमिकहरूलाई भन्दा धेर मालिक पक्ष र बन्द डाक्ने राजनैतिक दललाई फायदा हुने देखिन्छ। यदि बन्द नै डाक्नु हो भने पत्तीको मौसममा बन्द डाके मालिक पक्षलाई दवाब हुने साथै आर्थिक हानि पनि थियो तर पत्तीको मौसम सकेर बेमौसममा चियाबारीहरू बन्द गर्नु मालिकपक्षलाई नै फायदा पुग्नु हो कारण बन्द भएको दिनहरूको रोज मालिकले श्रमिकहरूलाई कुनै पनि हालतमा दिँदैन अब एकदिनको दुइसय रुपियाँको दरले कम्तिको पनि दशवटा चियाबारीहरूमा दश हजार श्रमिकहरूको रोज एकदिनको कति रुपियाँ हुन्छ त्यो मालिकलाई फायदा हो र कति दिन बन्द हुन्छ र बन्द अवधिभरिको करोड़ रुपियाँ मालिकको निम्ति बचाइदिन्छ। अर्कोतर्फ अब यो चाँड़बाड़को समयमा श्रमिकहरू हात रित्तो त भयो नै साथै यो बन्दले श्रमिकहरूको दशैंको बोनसमा पनि प्रभाव पर्नेछ र बोनसमा पनि मालिकपक्षलाई नै फायदा दिने काम हुनेछ। अर्कोतिर भोलिको दिनमा आजको बन्द विषय लिएर श्रमिकहरूलाई बकाया राशि सतप्रतिशत नदिएर आधा या तीनपावा राशि दिने तय गरेर मालिक पक्षसँग नेगोसिएसन् हुने नै छ त्यतिबेला अहिले आफै बोक्सी आफै झाँक्री भएर उफ्रिने दलले श्रेय लिएर फायदा उठाउने छ। पहाड़ र पहाड़वासीको यहीँ नै विडम्बना हो आफूले दश धारा पसीना बगाएर गरेको श्रमको ज्याला पाउनको निम्ति राजनैतिक दलको झण्डा बोकेर सड़कमा नारा लगाउँदै धरना बस्नुपर्ने त्यसमा पनि धेर फायदा मालिक र राजनैतिक दलले नै पाउने। यस्तो हुनुमा जनताको पनि कतै न कता दोष छ आज पहाड़मा सञ्चालित व्यवस्था जनताले स्वीकार गर्नु हुँदैन थियो कारण पहाड़मा सञ्चालित व्यवस्था जीटीए असंवैधानिक र क्षमताहीन छ। आज पहाड़मा श्रमिकहरूले काम गरेको पैसा नदिने मालिकलाई जेल हाल्न सक्ने क्षमता भएको र श्रमिकहरूको अधिकार हनन् गर्ने चियाबारी मालिकको जमीनको लीज खारेज गर्न सक्ने क्षमता भएको सशक्त र संवैधानिक व्यवस्था पहाड़मा हुनु पर्ने थियो। पहाड़मा 2007-मा छैटौँ अनुसूची जस्तो संवैधानिक र पूर्ण क्षमता भएको व्यवस्थाको विरोध गर्दै सुबास घिसिङभन्दा जान्ने हुनु खोज्ने नेताहरूको कारणले पहाड़ र गोर्खा जातिको यो हालत भएको हो। आज दशवटा चियाबारीहरू विषय जुलूस धरनामा भागोप्रमो नेताहरूले अन्य दलका नेताहरू कहाँ छ भन्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष श्रीमान मन घिसिङ पनि खै भन्छ भने, हामी बताउँछौ मन घिसिङ कहाँ छ भनेर, मन घिसिङ तिमीहरूले 2007 देखि लथालिङ परेको पहाड़ र जातिलाई दूरस्त पार्न पहाड़मा चियाबारीहरूको समस्या, कुइनेन बयानको समस्या, वन बस्तीको समस्या, शिक्षा क्षेत्रको समस्या, स्वास्थ्य क्षेत्रको समस्या, पहाड़मा बेरोजगारीको समस्या, शहरी क्षेत्र र आम गोर्खाको आर्थिक समस्याहरूको समाधान एकै ठाउँबाट सधैँको निम्ति गराउन सक्षम भएको संवैधानिक र क्षमताशील व्यवस्था पहाड़मा भित्र्याउनको निम्ति लागिपरेका छन् जसमा गोर्खाजातिको राजनैतिक सुरक्षा पनि होस्। पहाड़ले पनि मन घिसिङलाई नै हेरिरहेको छ। अब पहाड़मा श्रमिकहरूदेखि लिएर प्रत्येक तहका मानिसहरू राजनीतिको मोहरा हुनु हुँदैन। नेताहरूको लोलोपोतोमा नअलमलिएर साँचो र सत्य बुझेर अघि आउनु पर्ने भूपेन्द्र गुरुङले सबैलाई आह्वान गरेका छन्l