खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको साङ्गठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा समष्टीका सचिव सीबी राईको अध्यक्षतामा सम्पन्न भयो। समष्टीको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेको सभामा तीनधारे महानदी समष्टीका सभापति राजीव थापा, समष्टीको सचिव एवं सभासद नवराज छेत्री साथै भागोप्रमो तीनधारे महानदी समष्टीका पदाधिकारीहरू, नारी शक्ति, युवा शक्ति, ट्रेड लगायत सबै भातृ संगठनका पदाधिकारीहरू अनि बुथ कमिटीका पदाधिकारीहरू उपस्थित थिए। सभामा समष्टी सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टीको सचिव एवं घैयाबारी ग्राम पञ्चायत दुईको प्रधान भगवती प्रधान, युवा शक्तिको समष्टी सचिव सञ्जीव मंगर, घैयाबारी ग्राम पञ्चायत दुईको उप-प्रधान रञ्जीत थापा, पञ्चायत समिति सदस्य वाङ्दी लामा आदिले साङ्गठनिक विषयमा वक्तव्य राखेका थिए। तीनधारे महानदी समष्टीको विभिन्न बुथ कमिटीको सभापति सचिवहरूले सभामा आ-आफ्नो बुथको रिपोर्ट प्रस्तुत गरे।
सभामा लिएको निर्णय अनुसार भागोप्रमो तीनधारे महानदी समष्टी कमिटीमा कर्म मोक्तान र मातृका देवानलाई सह सचिवको रूपमा चयन गरिएको छ भने अमीर प्रधानलाई समष्टी कमिटीको प्रचार-प्रसार सचिव चयन गरिएको छ। त्यसरी नै विकास गुरुङलाई समष्टीको उप सभापति र योगेस प्रधानलाई समष्टी सदस्यको रूपमा चयन गरिएको छ। यसै क्रममा घैयाबारीबाट नरेन राई र नवराज प्रधानलाई पनि बुथबाट समष्टी कमिटीमा सदस्यको रूपमा चयन गरिएको छ। सभाको निर्णय अनुसार समष्टीको नरबुङ बुथ कमिटीलाई विघटन गरेर प्रणय देवानलाई संयोजकको रूपमा चयन गरिएको छ अनि तिनले आगामी दश दिनभित्रमा नयाँ बुथ कमिटी गठन गर्नलाई पहल गर्नु पर्ने बताइएको छ। सभामा भागोप्रमोको साङ्गठनिक गतिविधि विषयमा चर्चा-परिचर्चा गर्दै आगामी दिनमा भागोप्रमो तीनधारे महानदी समष्टीले बुथ पसौं अभियान शुरू गर्ने साथै भौगोलिक क्षेत्रफल अनुसार विभिन्न बुथहरूमा प्रशाखा कमिटी पनि गठन गरिने भएको छ। त्यसरी नै पार्टीको साङ्गठनिक कार्यहरूलाई पार्टीको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा तीव्र र सक्रिय बनाएर लैजाने निर्णय गरिएको छ। उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टीको प्रवक्ता बिपन विश्वकर्मले जानकारी दिएका छन्।