खरसाङ (निस) : भारतीय जनता पार्टी खरसाङ मण्डलको तर्फबाट आज खरसाङ बजारमा मौन जुलूस निकालिइयो। आजकै दिन 14 अगस्त 1947 सालमा भारतबाट पाकिस्तान अलग भएर गएको भन्दै भारतीय जनता पार्टीले दु:ख व्यक्त गर्दै आज मौन जुलूस निकालेको हो। यस वर्ष विशेष गरेर देश स्वाधीन भएको 75औँ वर्ष पुगेको अवसरमा भारतीय जनता पार्टी खरसाङद्वारा गत 11 अगस्तदेखि नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। यसै अन्तर्गत आज खरसाङ बजारमा मौन जुलूसको आयोजना गरिएको हो। उक्त मौन जुलूस खरसाङको टुरिस्ट लजदेखि शुरू गरेर एनएच 55 हुँदै वर्द्धमान रोड भएर मोटर स्ट्याण्डमा आएपछि समापन गरियो। यस अवसरमा भारतीय जनता पार्टी खरसाङ मण्डलका सभापति मदन जोगी, महासचिव सन्दीप रावत लगायत अन्य पदाधिकारीहरू तथा समर्थकहरू उपस्थित थिए। आजको मौन जुलूसको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टी खरसाङ मण्डलका सभापति मदन जोगीले भने, आजकै दिन भारत एक सिङ्गो राष्ट्रबाट पाकिस्तान छुटेर गएको र यसै कुरालाई हामीले दु:ख मान्दै मौन जुलूस आयोजना गरेको हो।