दार्जिलिङ (निसं) : भारतीय जनता पार्टीलाई हामीले हाम्रो अभिभावक सम्झेको थियौ तर हामीमाथि आई पर्दा मौन दर्शक भएर बस्यो। दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा दार्जिलिङ तराई डुवर्सका क्षेत्रिय राजनैतिक दलहरूको संयुक्त मञ्चको आयोजनामा अलग राज्य गोर्खाल्याण्ड विषयमा सम्पन्न नागरिक कन्भेन्सन कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले उक्त मन्तव्य पोखेका हुन्। उक्त नागरिक कन्भेन्सनलाई सम्बोधन गर्दै एडवडर्सले भने, भारतीय जनता पार्टीलाई हामीले हाम्रो अभिभावक सम्झेर गत 15 वर्षदेखि संसदहरू दिँदै आइरहेका छौ तर 2017 को आन्दोलनमा बंगाल सरकारले हामीमाथि अन्याय र अत्यचार गर्दा केन्द्रको भाजपा सरकार मौन दर्शक भएर बस्यो। जति बेला म गोरामुमो-मा थिए त्यस समय पार्टीले लोकसभा चुनाउमा भाजपालाई समर्थन गर्नु पर्छ भन्ने निर्णय लिइँदा आफुहरूमाथि बंगाल सरकारको धेरै दबाउहरू आएको थियो, यहाँसम्म की पार्टी कार्यकर्ताहरू विरूद्ध विभिन्न प्रकारको मामिलाहरू दर्ता गरिएको थियो। त्यसैक्रममा आफुमाथि पनि धेरैवटा मामिलाहरू दर्ता गरिएको थियो। त्यस समय भाजपालाई समर्थन गर्न सजिलो थिएन तर भाजपाले हाम्रो दीर्घकालिन मागलाई पूरा गरी दिन्छ भन्ने सोंच लिएर हामीले समर्थन जनाएका थियौ। लोकसभा चुनाउसँग-सँगै बंगाल विधानसभाको चुनाउमा पनि हामीले पहाडको तीनवटा आसनमा भाजपालाई समर्थन जनाएका थियौ, जसमध्ये हामीले दुईवटा आसनबाट जीत पनि दिलायौ। भाजपालाई हामीले तन, मन, धन सबै प्रकारले समर्थन गरेका थियौ तर दु:खको कुरा भाजपाले आजसम्म हामी गोर्खाहरूको लागि केही गरिदिएको छैन। तिनले अझ भने, अलग राज्यको मागमा गरिएको हिलम्यान एसोसिएशन-को आन्दोलनमा मेरो बाजेले पनि अंश ग्रहण गरेका थिए अनि आज म पनि गोर्खाल्याण्ड प्राप्तीको निम्ति सङ्घर्षरत् नै छु। सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनको क्रममा राज्यको तत्कालिन वामफ्रन्ट सरकारले देश विरोधी मुद्दा दर्ता गर्दा समेत तत्कालिन प्रधानमन्त्री राजीव गाँधीले गोर्खाहरूको माग राष्ट्र विरोध होइन, देशको संविधान अनुरूप रहेको बताएका थिए अनि गोर्खाल्याण्ड आन्दोलनको नेता सुवास धिसिङलाई केन्द्रीय बल सुरक्षाको निम्ति खटाएका थिए। यसको साथै प्रधानमन्त्री राजीव गाधी दुई पल्ट पहाड पनि आएको कुरा एडवर्डसले स्मरण गराए। केन्द्रको भाजपा मोदी सरकार हामीमाथि आई पर्दा चट्टान भएर खडा भइदिन्छ भन्ने हामीले सोच राखेका थियौ तर त्यसको ठीक विपरित निस्केको एडवाडर्सले बताए। 2017 को आन्दोलनमा बंगाल सरकारले पुलिस प्रशासन लगाएर हाम्रो मान्छेहरूलाई खुलेआम गोली ठोकेर मार्दा पनि केन्द्रको भाजपा सरकार मौन दर्शक भएर बसेको तिनले बताए। गोर्खाहरूमाथि कङ्ग्रेसको सोंच र भाजपाको सोंच के कस्तो छ भन्ने स्पष्ट रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।