भाजपा टोलीले मिरिक खण्ड विकास अधिकारीलाई भेटेर चढाए ज्ञापन

मिरिक (निसं): भारतीय जनता पार्टी मिरिक मण्डलको एउटा प्रतिनिधि टोलीले आज मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीलाई तिनकै कार्यालयमा भेट गरेर ज्ञापन पत्र चढाए। भाजपा प्रतिनिधि टोलीका सदस्यहरूले भेट अवधि मिरिक खण्ड विकास अधिकारी समक्ष मनरेगाको रहल रकम भुक्तान गरिदिने साथै गत 2019-देखि वृद्ध भत्ता नपाउनेहरूको समस्या समाधानको लागि पहल गरिदिने अनुरोध गरिएको भाजपा दार्जिलिङ जिल्ला कमिटिका सचिव तुलसी मास्केले बताएका छन्। भाजपाको उक्त मागलाई गम्भीरतापूर्वक लिइँदै मनरेगाको रहल रकम भुक्तान सम्बन्धी छानबीन गरिदिने खण्ड विकास अधिकारीले आश्वासन दिएको मास्केले जानकारी दिएका छन्। यसको साथै प्रधानमन्त्री आवास योजना मार्फत अबउसो घर निर्माण गरिँदा भाजपाले तयार पारेको खाँटी आवश्यक मानिसहरूको घर निर्माण गरिदिया जवोस् भनी अनुरोध गर्दा खण्ड विकास अधिकारीले यसबारे सहमति जनाएको तिनले बताए। भाजपाको प्रतिनिधि टोलीमा भाजपा दार्जिलिङ जिल्ला कमिटिका सचिव तुलसी मास्के, मिरिक मण्डल अध्यक्ष अमर राणा लगायत कार्यकर्ताहरू देवेन सुब्बा, प्रवीण राई, विकाश शर्मा, दिपेश थापा, माया राई, सुवर्ण छेत्री, सुरज सार्की, केबी प्रधान, विधान प्रधान आदि प्रमुख थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *