खरसाङ: भारतीय गोर्खा परिसंघको सभा जनपुस्तकालयको प्रेक्षा गृहमा भागोप क्षेत्रीय समिति खरसाङकी अध्यक्षा आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। सभाको प्रारम्भमा पूर्व अध्यक्ष स्व. सुकमान मोक्तानको आत्माको शान्तिको कामना गर्दै प्रार्थना तथा श्रद्धा सुमन अर्पण गरियो। तिनको निधन गोर्खा जाति साथै परिसंघको निम्ति एक अपूरणीय क्षति, आघात पुगेको सभामा उपस्थित सबैले महसुस गर्दै दु:ख व्यक्त गरे। सभालाई सञ्चालन गर्दै खरसाङ क्षेत्रीय समितिकी सचिव देवीका मङ्ग्राती राईले सभाको कार्य दिशामा अवगत गराए बमोजिम तीन वर्षको अवधिभित्र समितिले परिसंघप्रति के कस्ता योगदान तथा सुकार्यहरू गर्न सकियो भन्ने विषयमा प्रतिवेदन प्रस्तुत गरिन्। सभामा प्रमुख अतिथिको आसनबाट तिलक शर्मा, विशिष्ट अतिथिहरू तुलसी अधिकारी, जयराज थापा, सुहाङ सुब्बा आदिले सबै एकजुट भएर जुटे मात्र परिसंघलाई मजबुत बनाउन सकिन्छ भन्ने कुरा राखे। प्रत्येक सभामा सम्पूर्ण सदस्यहरूको उपस्थितिको आवश्यकताको बोध गरियो। सभामा विशेष पदाधिकारीहरूको उपस्थिति नहुँदा खेद प्रकट गरियो। संघको पदमा आसीन रहेर सभामा उपस्थित नहुनु, कार्य प्रणालीमा गति प्रदान र दिशा निर्देश कहिल्यै नदिनु लज्जास्पद कुरा रहेको कुरा सभामा राखियो। संवैधानिक कार्य प्रणालीलाई सम्पूर्ण मान्यजन, सदस्यहरूले आत्मसात गरेर अघि बढ्न सके गोर्खा जातिको अस्तित्व परिसंघले सफलतापूर्वक शिखर चढाउन सक्नेछन् भन्ने कुरामा सबैको सहमति जनाए।
सभामा सर्वसहमति अनुसार सभाध्यक्षीय सम्बोधनमा सभाध्यक्षा महोदयाले आगामी दिनको सभामा फेरबदल गरिने निष्कर्ष लिनु पर्ने सुझाउ राखिन्। आगामी फरवरी महीना 2022-मा कोक्राझारमा सम्पन्न हुन गइरहेको छैटौं महाअधिवेशनमा सबैको उपस्थिति महत्त्वपूर्ण रहेको तिनले जानकारी गराइन्। उक्त महाधिवेशनमा केही सदस्यहरू जान चाहे तापनि आर्थिक विपन्नताको कारण असमर्थ रहेको जान्नमा आएको तिनले बताइन्। सभामा भागोप खरसाङका पदाधिकारीहरू, आजीवन, साधारण सदस्यहरूमा आशा मुखिया लामा, देवीका मङ्ग्राती राई, शान्ति तामाङ, विद्या खाती, ललिता शेर्पा, छेकी शेर्पा, बिष्णु ठकुरी, सरोजिनी देवान, मीना लामा राई, भूमिका क्षेत्री, तिलक शर्मा, जयराज थापा, तुलसी अधिकारी, पारस लामा, जेबी गुरुङ, सुबाङ सुब्बा, हेमराज गुरुङ, सहदेव चामलिङ, राम प्रसाद लामा, बी गुरुङ, केबी सार्की आदि उपस्थित थिए। भागोप खरसाङ आञ्चलिक कमिटीको सभा आगामी दिसम्बर महिनाको अन्तिम सप्ताहमा आयोजना गरेर उक्त सभामा विशेष पदाधिकारीवर्ग अनिवार्य रूपमा उपस्थित हुनुपर्ने सभामा निर्णय लिएको छ।
