दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जिलिङस्थित महकुमा चुनाउ कार्यालयमा आयोजित एउटा कार्यक्रममा आज पार्टीको घोषणा पत्र सार्वजनिक गरियो। घोषणा पत्रको पहिलो बुँदामा नै गोर्खाल्याण्डको माग विषय घोषणा गरिएको छ। उक्त घोषणा पत्रमा उल्लेख गरेअनुसार जीटीए बोर्ड गठन गरेपछि प्रथम सभामा नै ‘गोर्खाल्याण्ड‘ गठनको निम्ति केन्द्र र राज्य सरकारलाई प्रस्ताव पठाइनेछ।
घोषणा पत्रमा जीटीए क्षेत्रको सर्वाङ्गीण विकासका पहलहरू, क्षेत्रको दीर्घ मियादी मागहरू जस्तै तीन स्तरीय पञ्चायत चुनाउ, अस्थायी कर्मचारीको स्थायीकरण, पहाडको व्यवस्थालाई सिस्टममा ढाल्ने पहल गरिने साथै रोजगार, स्वास्थ्य, पूर्वाधार निर्माण, खेल, साहित्य, सङ्गीत आदिको क्षेत्रमा उन्नतिको निम्ति पहल गरिने बताइएको छ।