सिलगढी (निसं) : पोराझार-कावाखाली भूमिरक्षा कमिटी एवं तिस्ता-महानन्दा परियोजना भूमिरक्षा कमिटीले संयुक्त रूपमा सिलगढीमा एउटा विरोध रेली निकाल्यो। जमीन फिर्ता दिनु पर्ने माग गर्दै संगठनका सदस्यहरूले जिल्लाशासकलाई एउटा ज्ञापन पनि सुम्पियो। सरकारी परियोजनाको नाममा लिएको जमीनको क्षतिपूर्ति सरकारले नदिएको तिनीहरूको आरोप रहेको छ। यस आरोपलाई लिएर गत धेरै वर्ष अघिदेखि सिलगढीको पोराझार-कावाखाली भूमिरक्षा कमिटी अनि तिस्ता-महानन्दा परियोजना भूमिरक्षा कमिटीका भूमिहीन किसानहरूले विरोध जनाइरहेका छन्। आज सिलगढीको कञ्चनजङ्गा स्टेडियम अघिल्तिरबाट दुवै संगठनले संयुक्त रूपमा एउटा विरोध रेली निकाल्यो। आज दुवै संगठनका सदस्यहरूले रेलीको माध्यम महकुमा शासकको कार्यालयमा पुगेर जिल्लाशासक तथा महकुमा शासकलाई ज्ञापन चढायो। सङ्गठनको तर्फबाट गौतम घोषले भने, गत धेरै दिनदेखि लगातार चलिरहेको आन्दोलन पछि पनि हामीहरूले गरेको मांगको कुनै जवाब पाएका छैनौ। यदि आफुहरूको मांगलाई लिएर कुनै प्रकारको सहानुभूति नदेखाए आगामी दिनमा बृहत आन्दोलन गर्ने पनि तिनले चेतावनी दिएका छन्।
