सिलगढी : भारत सञ्चार निगम लिमिटेड नेशनल ठेका वर्कर्स कङ्ग्रेसका कर्मचारीहरूले विविध मागलाई लिएर सिलगढीको हाशमी चोकमा धरना प्रदर्शन गर्यो। भारत सञ्चार निगम लिमिटेडमा अनुबन्धको आधारमा 20 वर्षसम्म काम गरे तापनि गत महिनामा पश्चिम बंगालभरिमै 1,350 कर्मचारीहरूलाई कामबाट छँटाइ गरिएको छ, जसमा सिलगढी, दार्जिलिङ, कालेबुङका 250 कर्मचारीहरू सामेल छन्। तिनीहरूको माग अनुसार छँटाइ गरिएका कर्मचारीहरूलाई ईपीएफ र ईएसआई रुपियाँ लगायत बकाया वेतनको साथमा फेरि काममा नियुक्त गरियोस्। यसैले तिनीहरूले श्रमिक दिवसको अवसरमा विरोध प्रदर्शन गरेको बताइएको छ। आज कर्मचारीहरूले हातमा प्लाकार्ड बोकेर केन्द्र सरकारविरुद्ध रोष व्यक्त गरे। यस सम्बन्धमा जिल्ला सचिव राजीव मण्डलले भने, विविध मागलाई लिएर प्रशासनको विभिन्न विभागमा पत्राचार गरिसके तापनि हालसम्म कुनै पहल गरेको छैन। आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।
