विचारको परिवर्तन नै भागोप्रमो-को पञ्चायत चुनावी रणनीति: अनित थापा

मिरिक (निसं): मिरिकको सौरेनीमा जल जीवन मिसन प्रकल्पको शिलान्यास कार्यक्रम पछि पत्रकारहरूसितको कुराकानीमा भागोप्रमो-का अध्यक्ष तथा जीटीए-का प्रमुख कार्यपाल अनित थापा आगामी पञ्चायत चुनाउ कसैको विरोध गरेर होइन तर जनतालाई जागरुक बनाएर साथै विचारको परिवर्तनले नै लड्नेछौ भनी बताए। उम्मेदवारको छनौट विषयमा बोल्दै तिनले भने, भोट हाल्ने जनता हुन। जनतालाई हेरेर हामी उम्मेदवारको छनौट गर्छौ।


आगामी पञ्चायत चुनाउमा पार्टीको के-कस्ता रणनीति हुनेछ भन्नेबारे तिनले भने, पञ्चायत चुनाउको निम्ति जनतालाई जागरुक गराउँदैछौ। हामी जनतालाई जागरुक गराएर नै चुनाउ लड्नेछौ। हामी कसैको विरोध गरेर चुनाउ लड्ने छैनौं। हामी विचारको परिवर्तन गरेर चुनाउ लड्दैछौ। पञ्चायत चुनाउ हुने निश्चित छ अनि यसको लागि हाम्रो तयारी चलिरहेको छ।

के भागोप्रमो-ले तृणमूलसित गठबन्धन गरेर पञ्चायत चुनाउ लड्नेछ भन्ने विषयमा सोधिएको प्रश्नको जवाब दिँदै तिनले भने, पञ्चायत चुनाउको घोषणा भएको छैन अहिले। आ-आफ्नो पार्टीको आफ्नो नीति अनि सिद्धान्त छ। हामी पञ्चायत चुनाउ कसरी लड्ने यो विषयमा पार्टीको केन्द्रीय समितिका पदाधिकारीहरूसित बैठक गरेर विचार विमर्श गरेपछि निर्णय लिइनेछौ।


तिनले जल जीवन मिसन पञ्चायत चुनावी मुद्दा नहुने जानकारी गराउँदै घर-घरमा पानी पुऱ्याउने योजना बेग्लै हो अनि चुनाउ भनेको बेग्लै हो भन्ने मन्तव्य पोखे। यसबारे तिनले अझ भने, चुनाउमा जल जीवन मिसन किन पस्ने? मैले बारम्बार भन्दैछु विचारको परिवर्तन गरेर नै हामी जनताको मन साथै भोट जित्नेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *