जलपाईगढी : मुख्य निर्वाचन अधिकारी आरीज अफताब आज जलपाईगढी आइपुगे। यसपछि तिनले आज जलपाईगढी लगायत उत्तर बंगालको पाँचवटा जिल्लाका प्रशासनिक अधिकारीहरूसित सचित्र मतदाता सूचीबारे एउटा विशेष समीक्षात्मक बैठक गरे। जलपाईगढीको जिल्लाशासक कार्यालयमा आज सचित्र मतदाता सूचीबारे एउटा विशेष समीक्षा बैठकको आयोजना गरियो। उक्त बैठकमा कुचबिहार, अलिपुरद्वार, जलपाईगढी, दार्जिलिङ र कालेबुङ जिल्लाका जिल्लाशासक लगायत विभिन्न प्रशासनिक अधिकारीहरू एवम् चुनाउ अधिकारीहरू उपस्थित थिए। लगभग चार घण्टासम्म चलेको उक्त बैठकको अन्तमा मुख्य निर्वाचन अधिकारी आरिज अफताबले हाल मतदाता सूचीको समरी रिभिजनको कार्य चलिरहेको बताए। उत्तर बंगालको 5 वटा जिल्लाका जिल्लाशासकहरूलाई लिएर आज आउँदो विधानसभा चुनाउको प्रस्तुति एवम् सचित्र मतदाता सूचीको समरी रिभिजन विषयमा बैठक गरिएको बताउँदै तिनले आगामी 15 जनवरीमा चुडान्त मतदाता सूची प्रकाशित गरिने जनाए।