खरसाङ : विधानसभामा टिएमसी विधायकहरूद्वारा बीजेपी विधायकहरूमाथि आक्रमण गरिनु पश्चिम बंगालमा प्रजातन्त्रको हत्या गर्ने कुत्सित प्रयास हो अनि यो देशको संविधान अनि प्रजातन्त्रको निम्ति दुर्भाग्यजनक घटना हो भनी खरसाङका भाजपा विधायक बीपी बजगाईले आरोप लगाएका छन् । विधायक बीपी बजगाईले प्रेस विज्ञप्ति जारी गर्दै रामपुरहाटमा गणहत्या भएदेखि यता त्यस हत्याकाण्डमाथि पश्चिम बंगाल विधानसभामा बहस हुनुपर्ने विषयमा भारतीय जनता पार्टीका विधायकहरुले लगातार मांग गर्दै आइरहेका छन्। तर पश्चिम बंगाल विधानसभामा टिएमसी पार्टीका भएर काम गर्ने विधानसभा अध्यक्षले यसमाथि बहस गराउन चाहेका छैनन् भनी बताउँदै यस विषयलाई लिएर रामपुरहाट गणहत्या भएको भोलिपल्टदेखि निरन्तर रुपमा विधानसभाको हलमा बीजेपी विधायकहरुले प्रजातान्त्रिक रूपमा विरोध प्रदर्शन गर्दै आइरहेका छौं भनी बताएका छन्। उनले बताए अनुसार यसै सत्रको सुरुको दिनमा विधानसभामा पश्चिम बंगालका माननीय राज्यपाल जगदीश धनकड़लाई पनि टिएमसीका विधायकहरुले बाहिर निस्कनबाट रोक्न हात लगाएका थिए भने आज त बंगाल विधानसभामा टिएमसी विधायकहरूले हदै नाघे अनि विधानसभाभित्र हलमा प्रजातान्त्रिक तरिकाले विरोध प्रदर्शन गरिरहेका भाजपा विधायकहरुमाथि टिएमसी विधायकहरूले हठात् आक्रमण गरे भनी बताएका छन् । खरसाङका भाजपा विधायक बीपी बजगाईले अघि भने, एकातिर बजेट सेसन चलिरहेको बेला स्वयम मुख्यमन्त्री ममता ब्यानर्जी भने आफ्नो राजनैतिक रोटी सेक्न दार्जीलिङ आएकी छिन् अनि उनी कोलकाता बाहिर भएको बेला सदनमा उनकै पार्टीको विधायकहरूले विपक्षी विधायकहरूलाई आक्रमण गर्नु एउटा सुनियोजित षडयन्त्र हुनसक्छ। आजको दुर्भाग्यजनक घटनालाई लिएर पनि टिएमसीले नै उल्टो राजनीति गरिरहेको छ भन्दै भाजपा विधायकहरुले उनीहरुलाई आक्रमण गरेको बताएर टिएमसीले नाटक गरिरहेका छन् र टिएमसीले यो नाटक बन्द गर्नु हो भने विधानसभाको लाइव कवरेज गर्न सुरु गर्नुपर्छ भनी विधायक बीपी बजगाईले जानकारी गराएका छन्। उनले वर्तमानमा प्रेस मिडियालाई समेत विधानसभाभित्र भिडिओ क्यामेरा लान निषेध छ भन्दै पश्चिम बंगाल विधानसभा सदनभित्र प्रजातन्त्रलाई अध्यारोमा राखिएको छ र यदि ममता ब्यानर्जी विधानसभालाई प्रजातान्त्रिक रुपमा जनताको अघि छर्लङ्ग देखाउन चाहन्छन् भनेदेखि अब यसै घटनालाई केन्द्रित गरेर विधानसभाभित्र प्रेस मिडियालाई प्रत्येक दिन नै भिडिओ कवरेज गर्नदिनु पर्नेछ भनी मांग गरेका छन् । पश्चिम बङ्गालमा विधायकको समेत सुरक्षा छैन भने आम नागरिक सुरक्षित रहन सक्ने कुनै वातावरण नै छैन भन्दै ममता ब्यानार्जीको शासनले राज्यलाई दिनदिनै गहिरो सङ्कटतिर लगिरहेको आरोप लगाउँदै खरसाङका विधायक बीपी बजगाईले उक्त घटनाको कठोर शब्दमा निन्दा गरेका छन्।
