जोरबङ्ग्लो: विधायक निरज जिम्बाको विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत जन कल्याणकारी योजनाहरू तीव्र गतिमा सम्पन्न भइरहेको छ। यसै क्रममा घुम जोरबङ्लो समष्टि अन्तर्गत जोरबङ्लो डाइरी ग्राम कल्याणकारी समिति डाइरी समाजको निम्ति भान्सा घर निर्माण कार्य सम्पन्न भयो। गाउँका वृद्धद्वारा आज उक्त भान्साघरको विधिपूर्वक उद्घाटन गरियो। समाजका सचिव बन्दन तामाङले विधायक निरज प्रति आभार व्यक्त गर्दै भने, हाम्रो समाजको निम्ति भान्सा घरको अतिनै खाँचो थियो।
यस सम्बन्धमा हामीले सम्बन्धित विभाग तथा जीटीएमा धेरैपल्ट ज्ञापन पत्र चढाए तापनि कुनै पहल गरेको थिएन। यसपछि आफूहरूले दार्जिलिङका विधायक निरज जिम्बालाई बिन्ती गर्दै ज्ञापन पत्र चढाएका थियौँ। विधायक निरज जिम्बाले हाम्रो समाजको दुखेसो बुझेर समाज घरको निम्ति भान्सा घर बनाइदिने वचनलाई पुरा गरेका छन्। उक्त कार्यको लागि समाजको तर्फबाट विधायक जिम्बाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौँ।