कालेबुङ : कालेबुङको 38 नम्बर समष्टिको विभिन्न क्षेत्रहरूमा पनि हालै आएको अत्यधिक वर्षाले गर्दा पैह्रो गएपछि यातायात गर्ने बाटो अनि पुलहरू भत्किएको छ। पैह्रोको कारण यहाँको गोर्खे पुलदेखि कागे, लदाम-रिसाब, लाभादेखि कोलाखाम, लिङ्से-लिङ्सेखा, कागेदेखि पेदोङ जाने मार्गहरू बन्द भएको छ। कालेबुङका विधायक रुदेन सादा लेप्चा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ 38 नम्बर समष्टि अध्यक्ष रन्जीत राईको निर्देश अनुसार कन्ट्राक्टर थुप्देन भोटियाको दुईवटा जेसीबीको सहयोगमा गत 20 अक्टोबरदेखि नै बाटो खोल्ने कार्य युद्धस्तरमा भइरहेको छ। उक्त बाटो खोल्ने क्रममा गत 20 अक्टोबरको दिन लाभादेखि कोलाखाम-कागेसम्म बाटो मरमति गरेर फँसिएका पर्यटकहरूलाई निकाल्ने कार्य गरिएको थियो भने कोलाखामबाट लिङ्से-लिङ्सेखा जाने बाटो फर्याङ्ग खोलामा पुल भत्किएपछि सडक बन्द रहेको छ। यता, गोर्खे पुलदेखि कागे हुँदै लदाम-रिसाब, लाभा अनि कालेबुङ जाने बाटोमा पनि जेसीबीद्वारा कार्य चलिरहेको बताइएको छ। हाल आपतकालीन सेवामार्फत जेसीबीद्वारा खोल्न सक्ने बाटोहरूको मात्र मरमति भइरहेको कन्ट्राक्टर थुप्देन भोटियाले जनाएका छन्।
