बिजनबारी: बिजनबारी बजारको बढ्दो बजारीकरणलाई उचित रूपमा व्यवस्थापन गर्न साथै गाउँ बस्ती तथा दार्जिलिङ लगायतको शहरबाट दैनिक रूपमा चल्ने वाहनहरूलाई उचित रूपमा व्यवस्थापन गर्दै भीडभाडरहित बजार बनाउने पहल शुरू गरेको छ। खण्ड बिकास कार्यलय दार्जिलिङ पुलबजार खण्डको मुख्य निर्देशन तथा पुल बिजनबारी ग्राम पञ्चायतको पहलमा आजबाट बिजनबारी बजारलाई नयाँ नियमको साथमा व्यवस्थापन गर्न शुरू गरियो। खण्ड विकास कार्यालयको प्रतिनिधि तथा ग्राम पञ्चायत सचिव कुशल सुब्बा, नवगठित व्यवस्थापन समितिका सभापति एम बहादुर सुब्बा एवम् योगेन्द्र राईको प्रमुख उपस्थितिमा आज बजारलाई कसरी भीडरहित बनाउन सकिन्छ तथा मानिसहरूलाई कसरी थप सुविधा पुर्याउन सकिन्छ भन्ने विषयमा बजारका व्यापारीहरूसित भेट गरेर चर्चा परिचर्चा गरियो। यसको साथै वाहनहरूलाई के कसरी राख्नुपर्ने भन्ने विषयलाई लिएर विभिन्न ठाउँहरूको निम्ति निदिष्ट स्थानहरूलाई चिन्हित गरियो।
