रिम्बिक: गोजमुमो बिमल खेमा रिम्बिक लोधोमा समष्टिको कर्मी सभा सम्पन्न भयो। रन्जन सोताङको सभापतित्वमा सम्पन्न सभा समष्टि संयोजक मणि कुमार सुब्बाले सञ्चालित गरेका थिए। सभामा समष्टिका 19 वटा मतदान केन्द्रको निम्ति चुनाउ कमिटी गठन गरियो। सभामा समष्टिका 6 वटा शाखा संयोजक पुण्य प्रसाद कोइराला, गजेन्द्र लिम्बु, दिपेन राई, बालकुमार छेत्री, मोहन लिम्बु, बिनोद छेत्रीहरूले शाखा प्रतिवेदन राखे भने ललितचन्द प्रधानद्वारा सम्पूर्ण चुनाउ कमिटीको नामावली सार्वजनिक गरे। सभामा नरेन्द्र काम्बाङ, भक्त खडका, भक्त दिलपालीले आउँदो विधानसभा चुनाउमा समष्टिको मतदान बिमल गुरुङ पक्षमा ‘क्षेत्रीय दल क्षेत्रीय उम्मेदवार क्षेत्रीय मुद्दाले’ धेरै मात्रामा मतदान पाउनेमा विश्वस्त रहेको बताए। उक्त सभामा वक्ताहरूले विनय-अनितले झुटो विकासको खोक्रोपन सँग जातिय गरिमाको माग अनि मुद्दाको तुलना गर्नु जतिको लाजमर्दो कुराबाहेक अरू नरहेको बताए।

सभामा नरेन्द्र काम्बाङले विकास हाम्रो जिम्मेवारी र कर्तव्य हो तर गोर्खाल्यान्ड हाम्रो मुद्दा अनि अधिकार हो। गोर्खाल्याण्ड नभएसम्म आफूहरू लागिपर्ने कटिबद्धता जाहेर गरे। विनय अनितले साढे तीन वर्ष केवल गोर्खाल्याण्ड पन्थीलाई मास्ने भूमिगत अनि तिनीहरूको परिवार बिमल समर्थकहरूलाई प्रताडना गर्नुमा मात्र आफ्नो श्रम अनि सोच खर्चाएको, शहीद परिवारहरूलाई समेत राजनीतिक भिक्टिमाइज गरेकोमा नरेन्द्र काम्बाङले निन्दा गरे। सभामा बाबु राम शर्माले समष्टिमा शिक्षक नियुक्तिमा समेत भाइ भतिजावाद गरेको आरोप लगाए।
