विश्व तामाङ सुन्दरी प्रतियोगितामा सिक्किमकी छोरी स्नेह तामाङले पहिरिइन् ताज

सिलगढी : सिलगढीको कोर्डयार्ड होटलमा शनिबार साँझ विश्व तामाङ सुन्दरी प्रतियोगिता बिनोद योन्जनको अध्यक्षता सम्पन्न भयो। तामाङ सुन्दरी प्रतियोगितामा 17 जना तामाङ सुन्दरीहरूले अंश ग्रहण गरेकी थिइन्, जसमा भारत सिक्किम सोरेङकी छोरी स्नेह तामाङले विश्व तामाङ सुन्दरीको ताज जित्न सफल भइन्। अखिल भारतीय तामाङ बौद्ध संघ अनि सिक्किम तामाङ बौद्ध संघको संयुक्त आयोजनामा सम्पन्न भएको दोस्रो विश्व तामाङ सुन्दरी प्रतियोगितामा दार्जिलिङबाट 9, भुटानबाट 1 अनि नेपालबाट 7 जना तामाङ सुन्दरीहरूले अंश ग्रहण गरेकी थिइन्। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पद्मश्री पुरुस्स्कार प्रापक जीएस (सानु लामा) उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा जीटीए सभासद अरुण सिन्जी अनि जीसारेगमापा लिट्ल च्याम्प विजेता जेटसन डोना लामा उपस्थित थिए। विश्व तामाङ सुन्दरी प्रतियोगिताको आयोजक एवम् प्रमुख संरक्षक मिलन मोक्तानले तामाङ जातिको पहिचान मौलिक भेषभूषा, संस्कृतिलाई जगेरा गर्न यस प्रकारको सुन्दरी प्रतियोगिता नेपालमा मिस सुन्दरी 2006 देखि गर्दै आइरहेको अनि 2021 देखि विश्व सुन्दरी प्रतियोगिता शुरु गरिएको हो।


गत वर्ष नेपालमा अनि यस वर्ष भारतको सिलगढीमा विश्व सुन्दरी प्रतियोगिता आयोजना गरिएको तिनले बताए। विश्व तामाङ सुन्दरी प्रतियोगिताको निर्णायकहरू डा. जुनिता योन्जन, सुमि मोक्तान, डा. सुदर्शन तामाङ, कुमार योन्जन, डा. छिरिङ योन्जन अनि सेरिङ लामा थिए। समारोहमा जेटशन डोना लामाले सुन्दर गीत प्रस्तुत गरिन्। विश्व सुन्दरी विजय प्रतियोगीलाई समारोहका प्रमुख अतिथि सानु लामा 2021-को विश्व सुन्दरी साङडोल्मा तामाङ, अखिल भारतीय तामाङ बौद्ध संघ महासचिव एमके योन्जन, सिक्किम तामाङ बौद्ध संघ प्रमुख केवल तामाङको बाहुलीबाट ट्रफी सहित नगद राशि 5 लाख चेक अनि विश्व सुन्दरीको ताज पहिराइयो। विश्व तामाङ सुन्दरी स्नेह तामाङ भइन् भने अन्य विभिन्न पाँचवटा विधामा पनि विश्व तामाङ सुन्दरी छनौट गरियो। जसमा सांस्कृतिक भेषभूषामा गंगा तामाङ, शिक्षा  विषयमा सोनाम वाङमु तामाङ, सामाजिक कल्याणमा जेशमिन लामा, स्वास्थ्यमा लाजीम तामाङ, तामाङ भाषामा नमुना तामाङ सामेल छन्। यी 5 जना विजयी प्रतियोगीहरूलाई ट्रफी सहित एक लाख रुपियाँको चेक प्रदान  गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *