सिलगढी : ब्ल्याक फङ्गसले ग्रसित महिलाको आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा अपरेसन गरिने भएको छ। ब्ल्याक फङ्गसको लक्षण देखापरेको सिलगढी प्रधान नगर निवासी एउटी महिला केही दिन अघिदेखि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना भएकी थिइन्। तिनको नमुना संग्रह गरेर जाँचको लागि पठाइएको थियो भने हिजो राति रिपोर्ट पोजेटिभ आएको बताइएको छ। यसपछि मेडिकल बोर्डले उक्त महिलाको अपरेशन गर्ने निर्णय लिएपछि आज अपरेशन गरिने भएको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डा. सन्दीप सेनगुप्तले बताएअनुसार उक्त महिलामा केही दिन अघिदेखि नै ब्ल्याक फङ्गसको लक्षण देखा परेको थियो। ब्ल्याक फङ्गसले मस्तिष्कमा संक्रमण नगरोस् भनेर तत्कालै फङ्गसले संक्रमण गरेको अंश अपरेशन गरेर काटेर निकाल्ने निर्णय लिएको तिनले बताए। यसपछि औषधिको माध्यमद्वारा तिनलाई निको पारिने डा. सेनगुप्तले बताए।